खानेतेलमा उच्च मूल्यवृद्धि, कुन तेलको मूल्य कति?

कच्चा पदार्थको मूल्य बढेको बहानामा उत्पादकले खाने तेलको मूल्य अचाक्ली वृद्धि गरेका छन्।

एक वर्षको अवधिमा खानेतेल लिटरमा करिब एक सय रूपैयाँभन्दा धेरै महँगिएको छ। पछिल्लोपटक निषेधाज्ञा सुरु भएपछि तेलको मूल्य लिटरमा करिब २० देखि ३० रूपैयाँसम्म वृद्धि भएको छ। 

अहिले बजारमा सनफ्लावर तेलको मूल्य लिटरको दुई सय ६५ देखि दुई सय ७५ रूपैयाँ, सोयाबिन तेल दुई सय ५५ देखि दुई सय ६५ रूपैयाँ लिटर पर्छ। अन्य तेलको मूल्य ब्रान्ड अनुसार योभन्दा महँगो छ। हरेक उपभोक्ताको भान्सामा तेल अनिवार्य आवश्यकताको दैनिक उपभोग्य वस्तु भएकाले मूल्यवृद्धिले सबै वर्गलाई असर पर्छ।

गत वर्ष सनफ्लावर तेलको मूल्य एक सय ५० रूपैयाँ र सोयाबिन तेलको एक सय ४५ रूपैयाँ लिटर थियो। एक वर्षको अवधिमा खानेतेलको मूल्य लिटरमा एक सय रूपैयाँभन्दा धेरै बढेको नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

‘महिनैपिच्छे तेलको मूल्य लिटरमा १०÷१५ रूपैयाँ बढेको छ,’ बज्राचार्यले भने, ‘तेल उद्योगले मनपरी ढंगले मूल्य बढाए।’  

राज्यका निकायले वास्ता नगर्दा निरन्तर मूल्य बढिरहेको उनको आरोप छ । मूल्य बढेको विषयमा सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

‘मूल्य बढेर आएपछि हामीले थोरै मार्जिन राखेर बिक्री गर्ने हो,’ बज्राचार्यले भने, ‘उपभोक्ताले बिक्रेताले बढाएजस्तो ठान्छ। खरिद मूल्य नै महँगो भएपछि भाउ त्यसै बढ्ने भयो।’

नेपालमा पर्याप्त तोरी लागयतका तेलजन्य वस्तुको कच्चा पदार्थ उत्पादन नहुने भएकाले विदेशबाट आयात हुन्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा उद्योगीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।

तेल उत्पादकले मनोमानी ढंगले मूल्यवृद्धि गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए ।

‘पुरानो लटको तेल पनि अहिले कच्चा पदार्थ बढेको बहाना देखाएर बढाइरहेका छन्,’ उनले भने, ‘अस्वाभाविक मूल्यवृद्धि गरेकाले सरकारले मूल्यमा हस्तक्षेप गर्नुपर्छ।’  

तेल उत्पादक उद्योगले कुन लटमा आएको कच्चा पदार्थ हो त्यसका आधारमा कहिले बजारमा पठाएको प्रस्ट पार्नुपर्ने उनले बताए । ‘मंसिर, पुसमा आएको कच्चा पदार्थबाट तयार गरिएको तेल बल्ल बजारमा आएको छ,’ उनले भने, ‘अहिले कच्चा पदार्थको भाउ बढ्यो भनेर मूल्य बढाएका छन्।’

निरन्तर मूल्य बढेको गुनासो आएकाले गहन रूपमा अध्ययन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। तेलको मूल्यवृद्धि हुनुको वास्तकिता के हो भन्ने विषयमा प्रस्ट पार्न उद्योगहरूलाई निर्देशन दिएको विभागका निर्देशक शिवराज सेढाईंले बताए।

‘के कारणले भाउ बढेको हो भन्ने विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘वास्तविकता पत्ता लगाएपछि थप प्रक्रिया अघि बढाउछौं।’ अस्वाभाविक रूपमा मूल्य बढाएको पाइए कारबाही गर्ने उनले बताए। कच्चा पदार्थ आयातको मूल्य, उत्पादन लागत लगायतका विषयमा पारदर्शी ढंगले प्रस्ट पार्न आग्रह गरेको उनले बताए।

यता तेल घिउ उद्योगले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाएका छन्। नेपाल वनस्पति घिउ तेल उत्पादक संघले खानेतेल उद्योगका लागि चाहिने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र मूल्य बढेका कारण तेलको भाउ बढेको जनाएको छ ।

मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात हुन्छ । कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालले मूल्य निर्धारण हुने संघले जनाएको छ।  

विगत १६ महिनादेखि विश्वमा फैलिएको कोरोना महामारीका कारण तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि हुन गएको संघले जनाएको छ। संघका अनुसार मार्च २०२० मा ६१४ डलर प्रतिटनमा पाइने सोयाबिन तेलको मूल्य अहिले १२ सय ७९ डलर प्रतिटन पुगेको छ ।

त्यसैगरी, ६५६ डलरमा पाइने प्रतिटन सनफ्लावर तेलको मूल्य १५ सय ८० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा परेको संघको दाबी छ।

त्यसैगरी, संघका अनुसार क्रुड सोयाबिन तेल गत अप्रिल ८ को ११ सय ९० डलरबाट बढेर अप्रिल २२ मा १२ सय ७९ डलर प्रतिटन पुगेको छ । दुई हप्तामा प्रतिटन ९० डलर बढेको संघले दाबी गरेको छ। क्रुड सनफ्लावर तेल गत अप्रिल ८ मा १५ सय ३० डलरमा पर्नेमा अप्रिल २२ मा १५ सय ३० डलर पुगेको संघको दाबी छ।

तेल प्याकिङमा प्रयोग हुने सामग्री तथा सहायक कच्चा प्रदार्थको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको दाबी संघको छ। निषेधाज्ञाको कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करीब ४० प्रतिशत क्षमतामा सञ्चालन भएको संघले नजाएको छ। यसले पनि लागत बढाउन योगदान गरेको व्यवसायी बताउँछन्।

ठाकुर–महतोलाई ८ मन्त्रालय

जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए।

उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनुसार ठाकुर पक्ष गृह मन्त्रालयबिनै सरकारमा सहभागी हुन लागेको हो। सो समूहले गृह मन्त्रालयमा पाउनुपर्ने दाबी गर्दै आएका थियो।

प्रधानमन्त्रीसँग वार्ता गर्न सोमबार जसपा अध्यक्ष ठाकुर, नेता महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पुगेका थिए। ‘प्रधानमन्त्रीज्यू ७ वटा मन्त्रालय दिन तयार हुनुभएको छ।

हामीले ८ वटामा अडान राखेका छौं’, वार्तामा सहभागी एक सदस्यले भने, ‘त्यसैले ८ वटा मन्त्रालयमै सहमति भयो भने पनि हुन्छ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन्।

प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर–महतो पक्षले आन्तरिक छलफल गरेको थियो। सरकारमा पठाउने नेताहरूबारे कुराकानी भएको स्रोतले बतायो। स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना छ। ठाकुर पक्षले उनलाई संसदीय दलको नेता बनाएको छ। 

सरकारमा जान शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले पनि इच्छा देखाएका छन्। उनीहरूको सम्भावना प्रबल रहेको स्रोतले बतायो। उपेन्द्र यादव पक्षबाट कित्ता परिवर्तन गरेका सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुहीनाथलाई मन्त्री बनाउन ठाकुरलाई दबाब बढेको छ। यीमध्येबाट अरगरैया र श्रीवास्तवको सम्भावना रहेको स्रोतले बतायो।

यसैगरी प्रमोद साहलाई पनि मन्त्री बनाउन ठाकुर—महतो पक्षलाई दबाब छ। ठाकुरका सम्धी उमाकान्त झा पनि मन्त्री बन्ने प्रबल सम्भावना छ।

उनी यसअघि ठाकुरकै सिफारिसमा प्रदेश ५ को प्रदेश प्रमुख भएका थिए। स्रोतका अनुसार सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी तथा विर्खेशचन्द्रलालले पनि सरकारमा जान इच्छा देखाएका छन्।

संसद विघटन भएको अवस्थामा गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई छुट छ। मन्त्री हुन इकवाल मिया तथा चन्द्रकान्त चौधरीले पनि इच्छा देखाएका छन्। 

प्रधानमन्त्रीसँग अहिले रक्षासहित ८ वटा मन्त्रालय खाली छन्। गृह, जलस्रोत तथा ऊर्जा, सहरी विकास, श्रम तथा रोजगार, युवा तथा खेलकुद, खानेपानी, उद्योग, वाणिज्य तथा आपपूर्ति मन्त्रालय मन्त्रीविहीन छन्।

यिनै मन्त्रालय ठाकुर–महतो पक्षलाई दिन ओली तयार भएको स्रोतले बतायो। यसैबीच ठाकुर—महतो पक्षले सरकारमा जानुअघि नै आफ्नो पक्षको आधिकारिकता जुटाउन प्रयास गर्ने भएको छ। जसपाको उपेन्द्र्र यादव पक्षले ठाकुर–महतो पक्ष सरकारमा जानेबित्तिकै पार्टीबाट निष्कासन गर्ने बताएको छ। जसपाको कार्यकारिणी समितिमा यादव बहुमतमा छन्।

जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ। विधानको यही धारा प्रयोग गर्दै यादव पक्षले ठाकुर–महतो पक्षका नेतालाई कारबाही गर्ने तयारी भएको छ। त्यस अवस्थामा जसपाबाट सरकारमा जानेहरूले कानुनी रूपमा पार्टीकोे प्रतिनिधित्व गर्नेछैनन्। 

प्रधानमन्त्री र जसपाका नेताहरूबीच भएको वार्तामा यसबारेमा पनि कुराकानी भएको स्रोतले बतायो। त्यो अवस्था आएमा कानुनी अड्चन हटाउन ठाकुर पक्षले प्रधानमन्त्रीसँग सहयोग मागेको स्रोतको भनाइ छ। ‘

त्यसैले सरकारमा जानुअघि नै कार्यकारिणीमा बहुमत जुटाउन ठाकुर—महतो सक्रिय भएका छन्’, स्रोतले भन्यो। यता अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर–महतो पक्षका नेतालाई कारबाही गर्न सबै कानुनी प्रक्रिया पूरा गरेका छन्। ‘

हामी अझै पनि उहाँहरू सही बाटोमा फर्कनुहुनेछ भन्ने आशामा छौं’, यादवले भने, ‘तर कार्यकारिणी समितिको निर्णयविपरीत उहाँहरू सरकारमा जानुभयो भने पार्टीले निष्कासन गर्नेछ। यो कार्यकारिणीको निर्णय हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button