
मदिरा पसलबाट भोड्का चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित
मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

सो क्रममा पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा उनीहरुले भोड्का रक्सी लिई गएको भिडियो विभिन्न सामाजिक संजाल तथा संचार माध्यमबाट सार्वजनिक भएका थिए ।
]त्यसप्रति ध्यानाकर्षण भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
धनुषामा एक सातासम्म पुनः निषेधाज्ञा थपियो
धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जनाए ।
जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।
धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए ।
एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्दै प्रमुख राईले स्वीकृति प्रदान गर्न माग गरिएको उल्लेख गरे ।
धरानमा रहेका सरकारी कर्मचारी तथा ज्येष्ठ नागरिकले भने प्रायः खोप लगाइसकेका छन् । धरानमा कोरोनाको दोस्रो भेरियन्ट आएयता एक हजार ६८६ जनामा सङ्क्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।



