
अब चार मुलुकमा नियमित उडान
सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ ।

चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ ।
तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ ।
बारपाकमा संकट : गाउँभरि बिरामी छन्, परीक्षण गर्न डराउँछन्
२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक अहिले अर्को संकटमा छ ।
गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन् । १५ दिनमा १३ जनाको मृत्यु भएको छ, जसमध्ये तीन जनाले बुधबार राति मात्र ज्यान गुमाएका हुन् । मृत्यु भएका अधिकांशमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले बताएका छन् ।
करिव १५ शय घरधुरी रहेको बारपाकको अवस्था नाजुक छ, गाउँभरि रुघाखोकी, ज्वरो र पखालाका बिरामी छन्,’ स्थानीय जीत घलेले अनलाइनखबरसँग भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि परीक्षण हुन सकेको छैन ।’
गाउँमा कोरोना संक्रमण फैलिएको उनीहरुको आशंका छ । निकै थोरै मात्र भएको परीक्षणको नजिताले त्यही देखाउँछ । बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण भट्टका अनुसार पीसीआर तथा एन्टिजेन प्रविधिबाट ११३ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
‘यो हेर्दा गाउँमा कोरोना फैलिसक्यो भन्ने हो, तर स्थानीय वासिन्दा परीक्षण गर्न मान्नुहुन्न,’ भट्ट भन्छन् । कोरोना परीक्षणका लागि पटक पटक जाँदा स्थानीयले नमानेको उनको भनाइ छ । २५० जनाको परीक्षण गर्ने सामग्रीसहित जाँदा १८ जनाको मात्र परीक्षण गर्न सकेको भट्टले सुनाए ।
स्थानीयबासीलाई सम्झाउन दुई दिनअघि स्थानीय कर्मचारी खटिएका थिए । बारपाक स्वास्थ्यचौकीसँगै रहेको महिला भवनमा अक्सिजनसहित ५ वेडको आइसोलेसन सेन्टर बनेको छ । भट्ट भन्छन्, ‘बारपाकको जनघनत्व बढी छ, त्यहाँ कोरोना फैलियो भने आउट ब्रेक हुन्छ । तर स्थानीयले चासो देखाउनुहुन्न ।’
गाउँभर बिरामी बढेपनि परीक्षण नगर्ने र धार्मिक संस्कारको नाममा मानिसहरु भेला तथा जमघट हुने काम नरोकिँदा थप जोखिम बढेको उनले बताए ।
परीक्षण गर्न किन डराउँछन् स्थानीय ?
गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी छन्, तर परीक्षण गराउन मानेका छैनन् । मौसम परिवर्तनको समयमा रुघाखोकी तथा ज्वरो आउनुलाई स्थानीयले सामान्य रुपमा लिने गरेको स्वास्थ्य शाखा प्रमुख भट्ट बताउँछन् ।
कोरोना संक्रमण पुष्टि भएमा गाउँलेले फरक व्यवहार गर्ने त्रास पनि उनीहरुमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘रुघाखोकी लागेको बेला परीक्षण गरियो भने कोरोना देखिन्छ, अनि कोरोना लाग्यो भने गाउँमा बस्न दिँदैनन् । छिमेकीले छिःछिः दुरदुर गर्छन् भन्ने डरले पनि परीक्षण गर्न नमानेको पाइएको छ ।’
स्थानीय जित घले पनि त्यसलाई स्वीकार गर्छन् । स्थानीय सरकारबाट पनि पहल नभएको उनको गुनासो छ । अर्का स्थानीय मीन गुरुङ भन्छन्, ‘एक/दुई पटक कोरोना परीक्षण गर्न आउने भनेर आएको थियो, तर खासै परीक्षण भएन । यस्तो बेला स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी भएकालाई औषधि उपलब्ध गराउनुपर्ने हो तर न सरकारले ध्यान दियो न स्थानीय जनप्रतिनिधिले ।’
सहयोग गरिदिन गाउँपालिकाको आग्रह
बारपाक सुलिकोट गाउँपालिकाले भने परीक्षणका लागि स्थानीय तयार नहुँदा समस्या भएको बताएको छ ।
बिहीबार वक्तव्य जारी गर्दै पालिकाले परीक्षणका लागि उपयुक्त वातावरण सिर्जना गरिदिन राजनीतिक दल, स्थानीय संघसंस्था, सरोकारवालालाई आग्रह गरेको छ ।
आफ्नो एकल पहलमा संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापन चुनौतीपूर्ण भएकाले भन्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भनेका छन्, ‘यस क्षेत्रबाट संघीय एवं प्रदेश सांसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समेत आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गर्दछौं ।’
प्रदेशबाट १० जना स्वास्थ्यकर्मी बारपाकतर्फ
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा स्वास्थ्य टोली पठाएको छ । निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराबाट ९ जना र गोरखाबाट एक जना गरी १० जनाको टोली बारपाकतर्फ गएका छन् । उनीहरुले शुक्रबार काम सुरु गर्नेछन् ।
जसमा दुई जना विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अफिसर, एक जना नर्सिङ अफिसर, दुई जना नर्सिङ स्टाफ, एक जना जनस्वास्थ्य निरीक्षक, दुई जना प्रयोगशालाकर्मीर एक जना मनोसामाजिक परामर्शदाता सहभागी छन् ।
उनीहरुले घरघरमा गई बिरामीको अवस्था यकीन गर्ने, एन्टिजेन परीक्षण गर्ने र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्नेछन् । त्यस्तै बिरामीलाई उपचार आवश्यक परे त्यहीँ उपचार गर्ने, अक्सिजन सपोर्ट चाहिए गोरखा अस्पताल लैजाने र जटिल अवस्थाकालाई पोखरा ल्याइने शर्माले जानकारी दिए ।
जिल्लाबाट पनि स्वास्थ्यकर्मी जाने
बारपाकमा गोरखाबाट चिकित्सक टोली खटाइने भएको छ । बिहीबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) को बैठकले गोरखा अस्पतालका डा. सन्दीप श्रेष्ठको नेतृत्वमा तीन जनाको चिकित्सक टोली खटाउने निर्णय गरिएको हो ।
शुक्रबार उनीहरु बारपाकतर्फ जाने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।



