
मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो ।

नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै विकसित हुने वरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ त्रिविमा प्राध्यापनरत शाक्यले भने ।

पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा २ जेठदेखि नै परेको थियो । त्यसको प्रभावले हुरी बताससहितको मध्यम खालको वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो ।
ताउ–ते सकिएलगत्तै आएको यास चक्रवातको प्रभावले अहिले पूर्वी नेपालका जिल्लाहरुमा पानी परिरहेको छ र यो क्रमशः पश्चिम सर्ने क्रममा रहेको मौसमविद प्रतिभा मानन्धर बताउँछिन् ।
जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार प्रदेश १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा र हिममात हुने जनाएको छ ।
बुधबार राति प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षा र बिहीबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीको कारण पानी पर्दा नेपालीहरुले सुख्खा समयमा राहत महसुस गरेका छन् ।
मनसुनमा पर्ने असर
कहिलेकाहिँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्दछन् । यसको प्रभावले मनसुन ढिलो वा चाँडो सुरु हुने गर्दछ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धर बताउँछिन् ।
‘अहिले मनसुनको गतिविधि बिस्तारै विकास हुँदै गएको त छ तर यी दुई चक्रवातलाई मात्रै हेरेर मनसुन आगमनको समय निश्चित गर्न सकिंदैन ।’
दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ ।
यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ । अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।
वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार एक हप्तायता प्रशान्त सागरको तापक्रम औसत देखिएको छ । यसो हुनु दक्षिण एसियाली देशका लागि राम्रो संकेत भएको उनी बताउँछन् ।
अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने अनुमान
दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ ले गर्दछ । त्यसको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मनसुनी अवस्थाबारे जानकारी दिन्छ । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने निष्कर्ष निकालिएको छ ।
जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण विभाग प्रमुखसमेत रहेकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ ।
यो सम्भावना स्थान विशेषअनुसार फरक छ । हिमाली भेग बढी र पहाडी भेगतिर अलि कम छ । तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।
सन् १९९१ देखि सन् २०२० सम्मको अवधिलाई हेर्ने हो भने नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र मनसुन बाहिरिने औसत समय अक्टुबर २ देखिन्छ । यसअघि जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा बाहिरिने भनिन्थ्यो ।
रुपन्देही र नवलपरासीका खोला–नदीमा मनपरी उत्खनन्, अनुगमन शून्य
कोरोना महामारीका कारण रुपन्देही र नवलपरासीमा निषेधाज्ञा जारी छ । सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । तर यही मौकामा दुवै जिल्लाका नदी तथा खोलामा मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् भइरहेको छ ।
रुपन्देहीका तिनाउ, सुखौरा, रोहिणी तथा नवलपरासी पश्चिमका भूमही र तुरियालगायतका खोला तथा नदीमा चरम उत्खनन् भइरहेको पाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका बेला नियामक निकायले समेत ध्यान नदिनु र सर्वसाधारण घरभित्रै थनिएको अवस्थाको फाइदा उठाउँदै ठेकेदारहरुले अवैध रुपमा नदी तथा खोला उत्खनन् गरेर बिक्री गरिरहेको स्थानीयको भनाइ छ ।
कति मात्रामा उत्खनन् गर्ने, कुन बेला बिक्री गर्ने, कति सवारी साधन चलाउने, एक्साभेटर प्रयोग गर्ने/नगर्ने ? भन्ने केही कुराको अनुगमन छैन,’ रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का एक स्थानीय भन्छन्, ‘नागरिक कोरोनाले गर्दा घरमै थुनिएका छन्, ठेकेदारले बिहान ५ बजेदेखि रातभर मनपरी गरेका छन्, घाटगद्दी गर्ने ठाउँमा वाहेक अन्यत्र पनि लगेर बेचेका छन्, लुकाएका पनि छन् ।’
खोलाबाट सिधै नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ । खोलाबाट निकालेपछि तोकिएको ठाउँमा घाटगद्दी गर्नुपर्छ र त्यसपछि मात्रै अनुमति लिएर बिक्री गर्नुपर्ने व्यवस्था छ । तर, यहाँ यसको पालना भएको छैन ।
जसका कारण राज्यको राजस्व ठूलो मात्रामा गुमेको छ । स्थानीय तहले गरेको वातावरणीय प्रभाव मूल्यांकनको पालना नहुँदा वातावरणमा असर पर्नुका साथै भू–क्षय, बाढी पहिरोको जोखिम पनि बढ्ने नागरिक समाजको चिन्ता छ । ढुंगा, गिटी–बालुवा बोकेका भारी सवारी साधन पानी चुहाउँदै गुड्ने भएका कारण सडकमा पनि क्षति पुगेको छ ।
अहिले सबैभन्दा बढी नदी दोहन तिलोत्तमा, सैनामैना र गैडहवा गाउँपालिकाले लगाएको ठेक्कामा भएको नागरिक समाज रुपन्देहीका पदाधिकारीहरु बताउँछन् । एउटै पालिकाले नदीको ठेक्काबाट करोडौं रुपैयाँ आम्दानी गर्ने उनीहरुको भनाइ छ ।
‘ठेकेदारहरुसँग जनप्रतिनिधि, कर्मचारी र प्रशासनको समेत मिलेमतो छ,’ नागरिक समाज रुपन्देहीका अध्यक्ष बाबुराम भण्डारी भन्छन्, ‘सबैभन्दा ठूलो बेथिति र अनियमितता हुने खोलाको ठेक्कामै हो, तर अनुगमन शून्य छ ।’
आम जनता निषेधाज्ञाले घरभित्र थुनिएको र बिरामी भएको अवस्थामा ठेकेदारको मनपरी कसले रोक्ने भन्ने प्रश्न उब्जिएको उनले बताए ।
नदीजन्य पदार्थको ठेक्का लिने धेरैजसो ठेकेदार जनप्रतिनिधिका आफन्त र दलका नेता कार्यकर्ता रहेकाले नागरिक समाज र सर्वसाधारणको आवाज दबिएको उनले बताए ।
नागरिक समाज, पत्रकार महासंघ र उपभोक्ता हित संरक्षण मञ्च समेतका निकायको समेत सहभागितामा स्थलगत अनुगमनमा मात्रै नदीजन्य पदार्थको उत्खनन् र घाटगद्दी हुनुपर्ने भण्डारीको सुझाव छ ।

अनुमतिविनै मेसिन प्रयोग गरी उत्खनन्
नवलपरासीको सुनवल नगरपालिकाको पानभार, तुरिया, बिसासय र तिलकाना खोलाको ठेक्कामा पनि ठेकेदारले अनुमतिविनै एक्साभेटर प्रयोग गरेर नदी उत्खनन् गरिरहेको पाइएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले एक्साभेटर प्रयोग गर्न दिएको फर्जी पत्र देखाउँदै नदी उत्खनन् गरेको पाइएपछि स्थानीयले विरोध गरेका थिए । त्यसपछि उत्खनन् कार्य चार दिनसम्म रोकिएको थियो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले कामदारको प्रयोग गरेर उत्खनन् गर्न अनुमति दिइएको भन्दै जिल्ला समन्वय समितिलाई पत्र नै लेखेर एक्साभेटर प्रयोग गर्ने अनुमति नदिइएको जानकारी गराए पनि ठेकेदारले पुनः तीनवटा एक्साभेटरको प्रयोग गरेर मनपरी नदी उत्खनन् गरेर ढुंगा, गिट्टी, बालुवा निकालिरहेको स्थानीय माधव अर्यालले बताए । प्रमुख जिल्ला अधिकारीलाई अवैध उत्खनन् रोक्न माग गर्दै निवेदन दिए पनि वास्ता नगरेको उनले बताए ।
‘अवैध काम भयो भनेर सरकारी निकायहरुमा गुनासो गर्दा एकले अर्कोलाई देखाउँदै पन्छिने काम मात्रै गरेर ठेकेदारलाई नै पोस्न खोज्छन्,’ अर्यालले भने, सीडीओलाई भन्दा जिल्ला समन्वय समितिलाई भन्नुस् भन्नुहुन्छ, समन्वय समितिमा जाँदा नगरपालिकाको जिम्मा हो भनेर पन्छिन्छन् ।’
स्थानीय सरकारले आम्दानी मात्रै हेर्ने तर वातावरण, जलस्रोत लगायत अन्य पक्षलाई बेवास्ता गर्दा ठेकेदारलाई मनपरी गर्ने बाटो खुलेको सुनवल–१२ का अर्जुन पाण्डेले बताए ।
जिल्ला समन्वय समितिले पनि प्रभावकारी अनुगमन गर्न नसकेको स्थानीयको गुनासो छ । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर कानूनको परिधिमा रहेर ठेक्का लगाएको दाबी गर्छन् ।
कतै बेथिति भएको भए नगरपालिकाले पनि हेर्छ, तर अनुगमनको काम जिल्ला समन्वय समितिको हो,’ उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना महामारीका कारण सम्पूर्ण ध्यान कोरोना नियन्त्रण, उपचार र अक्सिजनमा लगाउनुपर्दा सामान्य अवस्थामा जस्तो अनुगमन हुन नसके पनि कतैबाट उजुरी आए अवैध उत्खनन् र चोरी निकासी तत्काल नियन्त्रण हुने प्रतिक्रिया दिए ।



