
अस्पतालबाट भागेका संक्रमित पक्राउ
जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका संक्रमितत पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।

कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज संक्रमितत पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनःअस्पतालमा ल्याइएको डा. सुरज श्रेष्ठले जानकारी दिए ।
संक्रमितत पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका संक्रमितत पुरुषलाई बडिकेदार गाउँपालिका-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना सङ्क्रमण देखिएपछि उनी मंगलबार भागेका थिए ।
आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मंगलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।
उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने
उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।
थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘एकहप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दुध लगायतका अत्यावश्यक खाद्य पदार्थ खरिद गर्न दिने, तर खाद्यान्न, किराना पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेका छौ ।’
उनका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । उनले अनलाइनखबरसँग भने, ‘अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’
निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।
दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।
उल्लंघन गर्नेलाई अध्यादेशअनुसार कारबाही
अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।
अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।



