
एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, स्थिति भयाबह हुने चेतावनी
पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ ।

ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् ।

चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकारे ।
गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो ।
त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
साहका अनुसार चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरूको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि परीक्षण सामग्रीको अभावमा थप परीक्षण हुन नसकेको साहले बताए ।
चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँको घरघरमा पुगेर तापक्रम जाँच्दा , ज्वरो र रुघाखोकीका १ सय ७६ जना बिरामी फेला पारेको थियो ।
गाँउभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परिक्षण कार्य शुरु नगरिए गाँउको अवस्था झन् भयावह बन्ने साहको भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो पनि,,,,शक्तिशाली चक्रवात ‘टाउ टेई’ को असर आउँदो शुक्रबारसम्म पर्ने
अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ ।
अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु-याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो ।
मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।
उहाँका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ ।
अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ ।
अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
केही स्थानमा भारी वर्षा हुने पनि लक्षण देखिएको छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
जति पूर्व हुँदै गयो, त्यति चक्रवात र पश्चिमी वायुको असर कम हुने औँल्याइएको छ ।प्री–मनसुनको असर भने पहाडी भेगमा समेत देखिने छ । जसका कारण केही भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने आकलन गरिएको छ ।
काठमाडौँलगायतका मुख्य सहरमा पनि हल्कादेखि मध्य वर्षा हुने अनुमान महाशाखाले गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



