आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।

मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचीकृत गरेको छ ।

यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धार अन्तरराष्ट्रिय उडानबाट आउने जाने यात्रुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।

अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो ।

चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएका थिए । 

यो पनि,,,कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । 

सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् । 

शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल खानपिन गरिरहेका छन् ।

गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भने, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो ।

जाँच्दा कोरोना पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।” कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् ।

गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

जिल्लामा सङ्क्रमित भएकामध्ये बुधबार सङ्क्रमण पुष्टि भएका सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका एक पुरुषको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

शुरुमा जटिल समस्या देखिए पनि अहिले सङ्क्रमितको केही स्वास्थ्यमा सुधार आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । 

उनका अनुसार नयाँ सङ्क्रमितमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने अवस्था भएकाले उनको जिल्ला सामुदायिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।

खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौँमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् ।

जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button