
ओलीविरुद्ध बालुवाटारमा प्रदर्शन, प्रहरी रअधिकारकर्मी बिच झडप, २६ जना पक्राउ
१२ माघ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।

प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम लगायत रहेका छन् ।