यस वर्ष कर्णालीमा ७० प्रतिशत स्याउ उत्पादन कमी
सुर्खेत, ३१ भदौ । चालु आर्थिक वर्षमा कर्णालीका जुम्ला, कालिको र मुगु ७० प्रतिशत स्याउ उत्पादनमा कमी आएको छ । कोरोनाका कारणले स्याउ किसानहरुले गोडमेल र स्याउ फल्ने समयमा असिना पानी परेकाले स्याउ उत्पादनमा कमी आएको हो ।
स्याउ उत्पादनमा कमी आएका कारण स्याउन किसानहरु चिन्तित बनेका छन् ।
जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको र यस वर्ष घटेर करिब ५ हजार १ सय मेट्रिक टन फलेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । ‘गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा स्याउ निकै कम मात्र फलेको छ ।’ उनले भने,‘स्याउ उत्पादन ७० प्रतिशत कमी आएको छ ।’
गत आर्थिक वर्षमा स्याउ राम्रो फलेको यस आर्थिक वर्षमा आफ्नो बगैंचामा मुस्किलले १०० कार्टुन स्याउ फलेको जुम्लाका स्याउ किसान रामसिंह रावलले बताए ।
त्यस्तै, मुगुमा पनि गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा कमै मात्र स्याउ फलेपछि मुगु छायाँनाथ रारा नगरपालिका ताल्चा गाउँका स्थानीय रामबहादुर भामले बताए । ‘गाउँमा करिब दुई सय जनाको स्याउको बगैंचा रहेको छ ।’ उनले भने,‘कसैको बगैंचामा स्याउ फलेको छैन् ।’
कालिकोटको स्याउको राजधानी भनेर चिनिने तिलागुफ नगरपालिकामा पनि यस वर्ष स्याउ उत्पादनमा कमी आएको छ ।
गत आर्थिक वर्षमा स्याउ बिक्रिबाट सबै राम्रो आम्दानी लिएको यस वर्ष स्याउ उत्पादन नहुँदा नगरपालिकाको आम्दानीको स्रोतमा कमी आएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘यो वर्ष स्याउ नै फलेन ।’ उनले भने,‘यहाँको प्रमुख आयस्रोत स्याउ नै हो ।’