तोकिएकै समयमा कर बुझाउन सरकारको निर्देशन :
२८ पुस, काठमाडौं । सरकारले तोकिएकै समयमा कर बुझाउन करदातालाई निर्देशन गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए ।
तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।
पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ । तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यको करवि करीव नजिक राजस्व उठिरहेको छ । यो वर्ष वस्तु आयातमा ठूलो अन्तर नआएका कारण भन्सार राजस्व लक्ष्यको नजिक छ ।
सोमबारसम्म सरकारले ३ खर्ब ७६ अर्ब २ करोड राजस्व संकलन गरिसकेको छ । यो वर्ष कुल राजस्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड हो । आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन पुस मसान्तमा सरकारको राजस्व खातामा ठूलो रकम आउने गर्छ ।