नेपालमा देखिएको ‘एवाई १’ म्युटेन्ट कति खतरनाक?

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४७ नमुना परीक्षण गर्दा ९ जनामा उत्परिवर्तित रुप देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । डेल्टा (बी.१.६१७.२) भेरियन्टको विकसित रुप भएकाले यसलाई ‘एवाई १’ अर्थात् डेल्टा प्लस नाम दिइएको छ ।

नेपालमा हालै पुष्टि भएको ‘एवाई १’ म्युटेट भाइरस भारतलगायत विश्वका १० देशमा देखिइसकेको छ । डेल्टा अर्थात् बी.१.६१७.२ भेरियन्टको म्युटेन्ट ‘एवाई १’ हो ।

देशका विभिन्न भागबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेभ बायोलोजी (आईजीआईबी) ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण पुष्टि भएको थियो ।

४७ वटा नमुनामा डेल्टा भेरियन्ट उत्परिवर्तित ‘एवाई १’ म्युटेसन ९ वटामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेल बताउँछन् ।

नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने जनाएको छ ।

‘एवाई १’ कति खतरनाक ?

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भनिरहँदा डेल्टा ‘बी.१.६१७.२’ भेरियन्टबाट विकसित भएको ‘ए वाई १’ अर्थात् डेल्टा प्लस कति खतरनाक छ भन्ने अध्ययनकै विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

भाइरसले स्वरुप परिवर्तन गर्ने प्राकृतिक प्रक्रिया हो । डेल्टा भेरियन्टबाट म्युटेसन भएको भाइरस घातक हुन सक्ने आशंका गरिए पनि यसबारे पूर्ण अध्ययनपछि मात्रै यो कति घातक र संक्रामक छ भन्ने थाहा पाउन सकिने उनको भनाइ छ ।

डेल्टा भेरियन्टबाट म्युटेसन भएकाले ‘ए वाई १’ बढी घातक हुन्छ भन्ने आशंका गरिएको हो,’ उनी भन्छन्, ‘अध्ययनबिना घातक र तीव्र गतिमा फैलिन्छ भनेर भनिहाल्न सकिँदैन ।’

‘एवाई १’  भाइरसले एन्टिबडीको प्रतिरोध क्षमता कम गर्ने हो कि, डेल्टाभन्दा बढी स्मार्ट हुने हो कि भन्ने चिन्ताले सताउनु स्वाभाविक भएको उनी सुनाउँछन् । नयाँ म्युटेसनबारे अध्ययनको विषय भएकाले सबैभन्दा पहिला सजकता अपनाउनु नै मुख्य कुरा भएको उनको भनाइ छ ।

भारतले पनि ‘एवाई १’ अर्थात डेल्टा प्लसलाई भेरियन्ट अफ इन्ट्रेस्ट र भेरियन्ट अफ कन्सर्नका रुपमा राखेको छैन ।

यता मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोनाभाइरसका नयाँनयाँ भेरियन्टसँग जोगिने मुख्य आधार भनेकै जनस्वास्थ्यको नियम पालना हो । डेल्टा प्लस कति खतरनाक छ भन्नेबारे गहनरुपमा अध्ययन भइरहेको उनी बताउँछन् ।

धेरैजसो संक्रमितमा डेल्टा भेरियन्ट

नेपालमा कोरोना संक्रमितमध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ ।  देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनालाई ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको हो ।

कोरोनाको पुरानो भाइरस अल्फा भेरियन्टको संक्रमण ४८ मध्ये एउटा नमुनामा मात्रै देखिएको छ । अल्फा भेरियन्ट १६४ राष्ट्र भन्दा बढीमा फैलिसकेको छ भने डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो पटक बेलायतमा देखिएको कोरोनाभाइरसको भेरियन्टलाई बी.१.१.७ अर्थात् अल्फा नामकरण गरेको छ । यस्तै दक्षिण अफ्रिकामा देखिएको भेरियन्टलाई बी.१.३५१ अर्थात् बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, भारतमा देखिएको भेरियन्टलाई बी.१.६१७.२ अर्थात् डेल्टा नाम दिएको छ ।

भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नाम काप्पा दिइएको छ । नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’का रुपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) र पछिल्लो समय डेल्टा प्लस देखिएको छ ।

कोरोनाबारे नयाँ चिन्ता : डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलियो

कोरोनाको दोस्रो लहरमा भारतमा विध्वंश मच्चाउने डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलिएको छ । भारतमा कोरोनाका बिरामीलाई दिइँदै गरेको मोनोक्लोनल एन्टीबडीज ककटेल यो भेरियन्टमाथि निस्प्रभावी हुनसक्ने वैज्ञानिकले आशंका गरेका छन् ।

बेलायतको स्वास्थ्य संस्था पब्लिक हेल्थ इंगल्याण्ड (पीएचई) लाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा दिएको जानकारी अनुसार डेल्टा भेरियन्टका ६३ जिनोम नयाँ K417N ​ म्यूटेशनसहित देखिएको छ । पीएचईका अनुसार डेल्टा भेरियन्टमा परिवर्तन रुटिन जाँचको क्रममा डेल्टा प्लसबारे पत्ता लागेको हो ।

कोभिड भेरियन्ट्सको विषयमा पीएचईको पछिल्लो रिपोर्टका अनुसार भारतमा ७ जूनसम्म डेल्टा प्लस भेरियन्टका ६ संक्रमित भेटिइसकेका थिए ।

दिल्लीको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिव बायोलोजीका डा. विनोद स्केरियाका अनुसार K417N ​ म्युटेशनको विषयमा महत्वपूर्ण चिन्ता यो हो कि यसको एन्टीबडी ककटेलविरुद्ध रेजिस्टेन्ट भएको प्रमाण भेटिएका छन् । उनका अनुसार यद्यपि, भारतमा K417N ​ म्युटेशनको फ्रिक्वेन्सी खासै धेरै छैन ।

मोनोक्लोनल एन्टीबडीज ककटेल के हो ?

मोनोक्लोनल एन्टीबडीज ककटेल क्यासिरिविम्याब र इन्डेविम्याबबाट बनेको हो । यसलाई फर्मा कम्पनी सिप्ला र रोश इन्डियाले मिलेर बनाएको हो ।

भारतमा यसलाई कोरोनाको उपचारका लागि आपतकालीन प्रयोगका लागि मेमा मञ्जुरी दिइएको थियो । यसले अमेरिका र युरोपियन युनियनमा आपतकालीन प्रयोगका लागि दिइएको डाटाको आधारमा सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेशनबाट अनुमति पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button