
अबको ६ महिनाभित्र नेपाल यस्तो डरलाग्दो हुने छ अवस्था, विज्ञले दिए यस्तो सङ्केत
अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ।

‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।
नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन्।
अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने।
खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा. पुनको अनुमान छ। भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ।
अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।
चौधरी फाउन्डेसनबाट १८ बेडको आइसियू वार्ड हस्तान्तरण
चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।
कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारणको उपचारमा योगदान पुर्याउन फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड निर्माण गरेको हो।
फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमलाई आइसियू वार्ड हस्तान्तरण गरेका थिए।
वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ गरी १८ बेडको आइसियू वार्ड निर्माण भएको छ। विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियू वार्ड निर्माण गरिएको चौधरी फाउन्डेसको भनाइ छ। अस्पतालले यी तलामा हाल कोभिड संक्रमित बिरामीको उपचार सुरू गरिसकेको छ।
फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नागरिकको उपचारमा पहुँच भएको वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी नेपालीको सेवामा समर्पित गरिएको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्राडा देवनारायण शाहले कोभिड महामारीको संवेदनशील समयमा वीर अस्पतालमा १८ बेडको आइसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउन्डेसनले उत्कृष्ट भूमिका निर्वाह गरेको बताए। कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका सर्वसाधारणको जीवनरक्षामा यो आइसियू वार्ड वरदान साबित हुने विश्वास उनले व्यक्त गरे।
‘पैसा हातमा भएर मात्रै पनि यति छिटो समयमा आइसियू निर्माण गर्न सम्भव थिएन। तर, चौधरी फाउन्डेसनको सक्षम व्यवस्थापनका कारण मात्रै यो सम्भव भएको हो,’ प्राडा गौतमले भने। गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउन्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।
चौधरी फाउन्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामग्री देशभरका अस्पताललाई उपलब्ध गराएको थियो।
इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
इटहरीमा सञ्चालित एक नीजि बोर्डिङ् स्कुलमा अध्ययन गरेका पूर्व विद्यार्थीले विहीबार इटहरी अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका छन्।
सेकेण्डरी बोडिङ् स्कूलमा बि.स.२०४९/५० सालमा अध्ययन गरेका पूर्व विद्यार्थीको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न होस् भन्ने उद्देश्यले झन्डै तीन लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्री इटहरी अस्पताललाई हस्तान्तरण गरेका छन्।
पूर्व विद्यार्थी समाजका संयोजक डाक्टर बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा हस्तान्तरण गरे ।
वितरीत सामाग्रीमा नन् इन्भेसिभ भेन्टिलेटर एक थान, थरमल गन १० थान, पल्स अक्सिमिटर १० थान, मेडिकल स्ट्रेचर चक्का सहितको नौ थान, रबराईज्ड पिपिई सेट २५ थान, एन ९५ माक्स १०० थान, फेस माक्स १२ हजार ५ सय थान लगायतका सामाग्री रहेका छन्।
हस्तान्तरण कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा भावले गरिएको सहयोग महत्वपूर्ण रहेको बताए।
सो क्रममा पूर्व विद्यार्थीहरु अनुरोध थापा, राजु थापा, सुमित थापा, रन्जन ओझालगायतले सहयोगको सानो प्रयास भए पनि भविश्यमा इटहरी अस्पताललाई मजबुत र सुविधा सम्पन्न बनाउन आफूहरुको पहल रहने बताएका थिए। स्वास्थ्य सामग्री उपलब्ध गराउन रिना सुब्बा, बिनोद खड्का, यसोदा राई, भोज सिग्देल, बेन लिम्बू, अरुणा लिम्बू, कमल राठी, बिकाश काफ्ले, प्रमिला कडेँल, मञ्जु सुवेदी, प्रताप राई निरज खड्का, रबि न्यौपाने, सौरभ आचार्य, शेखर खनाल, प्रज्वल क्षेत्री, उत्तम बराल र सञ्जु शर्माले जनही सहयोग रकम संकलन गरेका थिए।



