
रामदेवको पतञ्जलीको कोरोनिल औषधि नेपालमा प्रतिबन्धित हो ? स्वास्थ्य मन्त्रालय के भन्छ? हेर्नुहोस
भारतीय योगगुरु तथा व्यापारी रामदेवको कम्पनी पतञ्जली योगपीठले बनाएको कोरोनिल किटलाई लिएर नेपालमा केही दिनयता चर्चापरिचर्चा भइरहेको छ।

सो कम्पनीले प्रदान गरेको कोरोनिल किट गत साता तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सहयोगस्वरूप लिएपछि त्यसबारे बहस सुरु भएको हो।

विश्व स्वास्थ्य सङ्गठनले मान्यता नदिएको र नेपालकै नियामक निकायले स्वीकृति दिन बाँकी रहेको औषधि लिएको भन्दै सरकारी कदमको धेरैले आलोचना गरिरहेका छन्। त्यसबारे मन्त्रालयको तर्फबाट अहिलेसम्म औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरिएको छैन।
पतञ्जली योगपीठको तर्फबाट सङ्घीय राजधानी काठमाण्डूमा गत बिहीवार तत्कालीन मन्त्री त्रिपाठीलाई कोरोनिल किट भएका ५० वटा कार्टुन हस्तान्तरण गरिएको थियो।
सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पठायो। विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले बताएअनुसार त्यसमा कोरोनिल ट्याब्लेट, स्वासारी ट्याब्लेट र नाकमा हाल्ने तेल गरी १,५००-१,६०० थान औषधि छन्।
ती औषधिलाई प्रयोगका लागि भने कतै वितरण नगरिएको उनले बताए।
के नेपालले प्रतिबन्ध लगाएको हो?
नेपालमा कुनै पनि औषधि विक्री-वितरण गर्नुअघि सम्बन्धित निर्माण कम्पनी अथवा आयातकर्ताले औषधि व्यवस्था विभागमा दर्ता गराई अनुमति लिनुपर्ने व्यवस्था छ। विभागका सूचना अधिकारी सन्तोष केसीले बताएअनुसार पतञ्जलीको कोरोनिल किट हालसम्म दर्ता भएको छैन।
“कोरोनिल किटबाहेक पतञ्जलीका अरू केही उत्पादन दर्ताका लागि हालै हामीकहाँ आवेदन परेको छ। केही अपुग कागजात हामीले माग गरेका छौँ, अनुमति चाहिँ दिइसकेका छैनौँ,” केसीले बुधवार भने।
ती औषधि उत्पादनका लागि सम्बन्धित देशको नियामक निकायले अनुमति दिइनुका आधार लगायतका पक्ष आफूहरूले हेर्न चाहेको उनले बताए।
कोरोनिल किटले नेपालमा अनुमति पाउँछ वा पाउँदैन भन्ने जिज्ञासामा केसीले भने, “त्यसले अनुमति पाउँछ अथवा पाउँदैन भन्नेबारे अहिले नै केही भन्न सकिन्न।
” विभागका प्रक्रियाहरू पूरा भई नसकेकाले आफूहरूले अहिले कोरोनिल किटको वितरण रोकेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग सूचना अधिकारी थापाले बताए।
“कोभिड खोपहरूको हकमा औषधि व्यवस्था विभागको अनुमति चाहिए जस्तै यसमा पनि स्वीकृति चाहिने भएकोले तत्कालका लागि हामीले वितरणमा रोक लगाएका हौँ। प्रतिबन्ध अथवा अरू त्यस्तो केही होइन,” थापाले स्पष्ट पारे। यद्यपि कोरोनिल किटको प्रयोगले कोभिड-१९ निको हुने अथवा नलाग्ने रूपमा नबुझ्न उनले आग्रह गरे।
स्वास्थ्य मन्त्रालय के भन्छ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पतञ्जलीबाट प्राप्त कोरोनिल किट ‘यथास्थिति’मै रहेको बताए। “त्यो यथास्थितिमै छ।
हामीले प्रतिबन्ध लगाउने वा प्रयोग गर्ने निर्णय गर्ने होइन। त्यो त औषधि व्यवस्था विभागले गर्ने हो,” उनले थपे। आवश्यक परामर्शविनै अनुमति नदिइएको औषधि लिने काम उच्च तहबाट गरिएकोले स्वास्थ्य अधिकारीहरू त्यो कदमबारे खुलेर बोल्न नचाहेको कतिपयले बताउने गरेका छन्।
पतञ्जलीले के भन्दै आएको छ? बीबीसी रीआलिटी चेकका अनुसार पहिलो पटक सन् २०२० को जून महिनामा कोरोनिल किटले कोभिड-१९ को “निदान गर्ने” भन्दै त्यसको प्रवर्द्धनमा योगगुरु रामदेव देखिएका थिए।
तर निदानको रूपमा त्यसले काम गरेको कुनै प्रमाण नदेखिएको भन्दै भारत सरकारले हस्तक्षेप गरेपछि कम्पनीले त्यसको बजारीकरण बन्द गर्नु परेको थियो।
यद्यपि “इम्यूनिटी बुस्टर” को रूपमा चाहिँ कम्पनीले त्यसलाई विक्री गर्न सक्ने सरकारले भन्यो। गत फेब्रुअरी १९ तारिखमा पतञ्जलीले भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनको उपस्थितिमा अर्को कार्यक्रम गर्यो जहाँ उसले कोरोनिल किटले कोभिड-१९ बाट जोगाउने र त्यसलाई निको पार्ने आफ्नो दाबी दोहोर्यायो।
तर “अवैज्ञानिक औषधि” को प्रवर्द्धनमा स्वास्थ्यमन्त्री नै सहभागी भएको भन्दै भारतीय चिकित्सकहरूको सबैभन्दा ठूलो सङ्गठन इन्डिअन मेडिकल एसोसिएशनले चर्को आलोचना गरेको थियो। बीबीसी



