अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। 

मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० दिनभित्रै औपचारिक जानकारीसमेत दिने बताए। ‘हप्ता/दस दिनभित्रै ब्रेक थ्रु आउनेछ,’ उनले भने, ‘मन्त्रालयबाट खोप उत्पादन गर्ने देश र उत्पादन गर्ने कम्पनीसँग कूटनीतिक पहल नियमित रूपमा भइरहेको तथा अमेरिका र चीन छिट्टै खोप उपलब्ध गराउने तयारीमा देखिएको छ।’

खोप उपलब्ध गराउने देश चीनले बुधबार चाँडै नै १० लाख खोप अनुदानमा दिने र अन्य समन्वय गर्ने घोषणा गरिसकेको छ भने अमेरिका कूटनीतिक स्तरमा सहमत भए पनि अमेरिकी कानुनी प्रक्रियामा अघि बढिरहेको मन्त्री ज्ञवालीले बताए।

अमेरिकाले खोप निर्यात गर्नुअघि अमेरिकी औषधि नियन्त्रण विभाग, सुरक्षा निकाय र फुड एन्ड ड्रग्स कम्पनीले अनुगमन गरी अनुमति दिनुपर्छ। ‘अमेरिका अहिले यी प्रक्रिया पूरा गर्ने क्रममा छन्,’ उनले भने। 

मन्त्री ज्ञवालीका अनुसार आफ्ना नागरिकका लागि भनी आयात गरिएको अस्ट्राजेनिका खोप नलगाई अरू खोप दिइएकाले अमेरिकामा ६ करोड डोज भण्डारण गरिएको छ।

नेपालले अमेरिकासँग त्यही खोप माग गरेको हो। अस्ट्राजेनिकाबाहेक अमेरिकी कम्पनी जोनसोन एन्ड जोनसनको खोप लिने पहल भएको छ। मन्त्री ज्ञवालीका अनुसार अमेरिकाबाट ५० लाख डोज जोनसोन एन्ड जोनसोनको खरिद गरी ल्याउने समन्वय भइरहेको छ।  

छिटो खोप उपलब्ध गराउने चीनले पनि अनुदानको १० लाखबाहेक ५० लाख भेरोसेलमको खोप उपलब्ध गराउने भएको छ। तर दुवै देशले थप डोजबारे औपचारिक घोषणा गरेका छैनन्।

जोनसोन एन्ड जोनसनको खोप एक डोज मात्र लगाइने भएकाले खोप अभियानको लागत कम लाग्ने र खरिद मूल्य पनि सुपथ हुन सक्ने देखिएकाले नेपाल उक्त खोप खरिद गर्ने तयारीमा रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए।

भारतबाट ‘कोभिसिल्ड’ रोकिएपछि मन्त्रालयले नेपालमा पहिलो डोज खोप लिएर बसेका ६५ वर्षमाथिका नागरिकलाई विकल्पमा अस्ट्राजेनिकाकै खोप दिन लागिएको र त्यो खोप उत्पादन गर्ने देश बेलायत, अमेरिका, रुसलगायतसित १७ लाख डोजका लागि पहल गरेको हो। अहिलेको स्थितिमा अस्ट्राजेनिकाको खोप छिटो उपलब्ध गराउन सक्नेमा अमेरिका देखिएको मन्त्री ज्ञवालीले संकेत गरे। ‘

अरू देशहरूबाट पनि खोप लिने कुरामा सकारात्मक संवाद भइरहेको छ,’ उनले भने। खोपका लागि नेपाल सरकारले ३६ अर्ब बजेट सुनिश्चित गरिसकेकाले विश्व बजारमा खोप उपलब्ध भएसम्म सन् २०२१ भित्रै ७२ प्रतिशतलाई खोप लगाइसक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सबै देशसँग नियमित रूपमा कूटनीतिक पहल भए पनि विश्व बजारमा खोप उत्पादन र मागको असन्तुलन, खोप उत्पादन र वितरणको असमानताले विकासशील देशहरूलाई खोपको संकट परिरहेको स्थिति रहेको मन्त्री ज्ञवालीले बताए।

तथ्यांकअनुसार विश्वका १५ देशले ९५ प्रतिशत खोप ओगेटेका छन् भने विश्वका १ सय ६० देशले ५ प्रतिशत खोपको भरमा अभियान सुरु गरेका छन्। चीन र अमेरिकाबाहेक रुस र बेलायत पनि खोप खरिदका लागि प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।  

यसअघि कोभिड–१९ विरुद्धको खोप सिधै खरिद गर्न नेपालको ऐनले बाधा पारेकोमा गत साता ल्याइएको कोभिड १९ विरुद्धको खोप अध्यादेशले नियममा भएका अवरोध हटाएको छ। सो अध्यादेशले कोभिड–१९ विरुद्धको खोप उत्पादक कम्पनीसित सिधै खरिद व्यवस्था गरेको छ र खोप समन्वय समिति गठन गरिसकेको छ।

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ को सरकारले विराटनगरका उद्योगी व्यवसायीलाई सुटुक्क कोरोना विरुद्धको दोस्रो डोज खोप दिएको छ। विराटनगरस्थित सिटी सिनेमा हलमा शुक्रबार विराटनगरका उद्योगी व्यवसायीलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले  कोरोना विरुद्धको दोस्रो डोज खोप दिने व्यवस्था गरेको हो।  

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो।

सिटी सिनेमा हलमा उद्योगी व्यवसायीको भीड देखेर प्रवेश गरेका स्थानीयले सरकारले सुटुक्क उद्योगी व्यवसायीलाई खोप दिइरहेको देखेपछि होहल्ला गरेका थिए।  

खोप लगाएको हल्ला फैलिएपछि  विराटनगरका स्थानीय पनि खोप लगाउन सिनेमा हलको प्राङ्गणमा पुगेका थिए। खोपको माग गर्दै स्थानीय पुगेपछि खोप लगाउन भेला भएका उद्योगी व्यवसायी र स्वास्थ्यकर्मीको भागागभाग भएको थियो।

स्थानीयले कोभिड खोप लगाउन अवरोध गरेपछि प्रहरीले सुरक्षा दिएर खोप दिन पुगेका स्वास्थकर्मी, खोप बोकेको गाडी र उद्योगी व्यवसायीलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको थियो। उद्योगीलाई सुटुक्क खोप लगाएको स्थानीयले सूचना दिएपछि आफूहरूले खोप लगाउन अवरोध गरेको ताजिम अन्सारीले बताए।

उनले भने ‘प्रदेश सरकारले पहुँच वालालाई मात्रै खोप दिन थालेपछि हामीले अबरोध गरेका हौं।’  

मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले सिनेमा हलभित्र  होहल्ला भएपछि मात्रै प्रहरीलाई खोप लगाइएकोबारे जानकारी भएको बताए। ‘हामीलाई पनि खोपका बारेमा जानकारी थिएन’ खड्काले भने‘ सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुगेको हो।’

विपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले केही दिन पहिले पत्रकार सम्मेलन गरी  प्रदेश सरकारले पहुँचका आधारमा कोरोना विरुद्धको खेप लगाएर खोपको दुरुपयोग गरिरहेको बताएका थिए।

शुक्रबार विराटनगरका उद्योगी व्यवसायीलाई सुटुक्क खोप लगाएको स्थानीयले रंगेहात पक्राउ गरेपछि प्रदेश सरकारको जनताप्रतिको व्यवहार उदांगिएको कार्कीले बताए। कार्कीका अनुसार प्रदेश सरकारले तीन ठाउँमा कोरोना विरुद्धको खोप आफ्नो पार्टीका नेताहरू, आफू निकटका वकिलहरू र विराटनगरका उद्योगी व्यापारीहरूलाई दिने व्यवस्था गरेको थियो।

प्रदेश सरकारले चुनावका लागि उद्योगी व्यवसायी रिझाउन सुटुक्क खोप बाँडिरहेको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button