
भक्तपुरमा थप ८ जना संक्रमितको मृत्यु, मृतकको संख्या २४५ पुग्यो
भक्तपुरमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जसमा ६ जना पुरुष र २ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ वटामध्ये सबैभन्दा बढी चाँगुनारायण नपामा मात्रै ३ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।

त्यस्तै मभ्यपुर थिमि र सूर्यविनायकमा एकएक जना महिला र पुरुष गरी ४ जना तथा भक्तपुर नपाका एकजना पुरुष संक्रमितको मृत्यु भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १६२ जना पुरुष र ८३ जना महिला गरी २४५ जना पुगेको छ । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ६१ जना पुरुष र २५ जना महिला गरी ८६ जना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरका ३९ जना पुरुष र २६ जना महिला गरी ६५, सूर्यविनायकका ४१ जना पुरुष र २३ जना महिला गरी ६४ जना र चाँगुनारायण नपाका २१ जना पुरुष र ९ जना महिला गरी ३० जना संक्रमितले ज्यान गुमाएका छन् ।
भक्तपुरमा पछिल्लो दुई सातादेखि दैनिक रुपमा संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार भक्तपुरमा ३ घन्टामा एकजना संक्रमितको मृत्यु भइरहेको छ ।यहाँ नयाँ थपिने एकसय संक्रमितमध्ये मर्नेको संख्या ३ जना पुगेको छ । पछिल्लो पटक २७७ जना नयाँ संक्रमित थपिँदा ८ जनाले ज्यान गुमाएका थिए ।
मंगलबार पहिलोपटक भक्तपुरमा सक्रिय संक्रमित ४ हजारभन्दा कम भएका छन् । जसअनुसार यहाँ एकहजार ९७९ जना पुरुष र एकहजार ७४५ जना महिला गरी ३ हजार ७२४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ११८ जना पुरुष र ८८ जना महिला गरी २०६ जना अस्पताल तथा नपाको आइसोलेसन केन्द्रमा उपचाररत छन् ।
त्यस्तै एकहजार ८६१ पुरुष र एकहजार ६५७ महिला गरी ३ हजार ५१८ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।यहाँका ४ नपामध्ये सबैभन्दा बढी सूर्यविनायक नपामा ६५३ पुरुष र ६१५ महिला गरी एकहजार २६८ सक्रिय संक्रमित रहेका छन् ।
मध्यपुर थिमि नपामा ६०६ पुरुष र ५४७ महिला गरी एकहजार १५३ सक्रिय संक्रमित छन् । भक्तपुर नपामा ३४२ पुरुष र २७५ महिला गरी ६१७ तथा चाँगुनारायणमा २७४ पुरुष र २१८ महिला गरी ४९२ जना सक्रिय संक्रमित रहेका छन् ।
थपिने भन्दा डिस्चार्ज हुने बढी
पछिल्लो समय नयाँ थपिने भन्दा डिस्चार्ज हुने संक्रमित बढेका छन् । मंगलबार २७७ जना संक्रमित थपिँदा ४९९ जना डिस्चार्ज भए । हालसम्म ८ हजार २९८ पुरुष र ६ हजार ७०६ महिला गरी १५ हजार ४ जना संक्रमित डिस्चार्ज भएका छन् । जुन ७९ प्रतिशत हो ।
भक्तपुरमा १८ हजार ९७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० हजार ४३९ जना पुरुष र ८ हजार ५३४ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले भन्यो : अक्सिजन सिलिण्डर अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने व्यवस्था गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी अक्सिजन सिलिण्डर समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ।
अक्सिजन सिलिण्डर व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने भएकोले संवेदनशील बन्न अनुरोध गरेको हो।
बुधबार मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गर्न गराउन आग्रह गरेको हो।
कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरणको व्यवस्थापन गरिरहेको र केही दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नका लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको पाइएको विज्ञप्तिमा उल्लेख छ।
‘एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ र यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ । विभिन्न व्यक्तिहरु तथा संघसंस्थाहरुले व्यक्तिगत, आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु हुन् तिनै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालहरुमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउने कार्य गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ ।
’ विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैलाई संवेदनशील बनिदिनु हुन अनुरोध छ । ’
गुल्मीमा कोरोना संक्रमण घट्दै
कोरोना भाइरसबाट हुने दैनिक संक्रमण जिल्लामा केही दिनयता घट्न थालेको छ । यससँगै संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा मंगलबार ३२ जना संक्रमित थपिएका छन् । यस अवधिमा ७१ जना निको भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार ७७ जनामा कोरोना पुष्टि भएको थियो । २ जनाको ज्यान गएको थियो । केन्द्रको तथ्याङ्कअनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९१ पुगेको छ ।
मृतकको संख्या ६८ पुगेको छ । ९ सयजना निको भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वैशाख १८ गतेदेखि जारी गरिएको निषेधाज्ञा हालसम्म कायमै छ ।



