पहिलो पटक घर किन्दा ध्यान दिनुपर्ने कुराहरु

१) बजेट निर्धारण

मैले कतिसम्मको घर किन्न सक्छु भनेर सबैभन्दा पहिला आफ्नो बजेटबारे यकिन गर्नुहोस् । बजेटको स्रोत कसरी जुटाउन सक्नुहुन्छ ? बैंकबाट ऋण लिने हो कि आफ्नै सञ्चित सम्पत्ती बिक्री गर्ने हो कि ? बैंकले पनि धितो मूल्यांकनको ६० प्रतिशतसम्म मात्र ऋण लगानी गर्छन्, बाँकी रकम आफैले डाउन पेमेन्ट गर्नुपर्छ । अर्थात् आफैसँग भएको नगद लगानी गर्नुपर्छ । अहिले बैंकहरुले पनि १० प्रतिशतभन्दा कम ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेका छन् । नयाँ ऋणीलाई राहत मिल्ने छ । सबैभन्दा पहिला बजेटको प्लानिङ गर्नुहोस् ।

२) आफुलाई पायक पर्ने स्थान र घरको डिजाइन

तपाईंले बजेटको व्यवस्था गरिसक्नुभयो । अब आफुलाई पायक पर्ने ठाउँमा बजेटले धान्ने खालको घर चाहियो । तपाईंले कुन ठाउँमा घर किन्ने, कस्तो घर किन्ने भनेर निर्णय गर्नुपर्छ ।

परिवारको संख्याको आधारमा पनि घरको आकार प्रकार निर्धारण गर्नुपर्छ । भोली थपिने परिवारका सदस्यलाई पनि मध्यनजर गर्नुपर्छ । कतिवटा बेडरुम, कतिवटा बाथरुम, कत्रो किचन चाहिने यकिन गर्नुहोस् । ठूलो परिवार भए ठूलो घर चाहिन सक्छ, सानो परिवारलाई सानो घरले पनि पुग्ला । यदि तपाईसँग प्रयाप्त बजेट छ भने ठूलै घर पनि आँट्न सक्नुहुन्छ ।

३) दक्ष र भरपर्दो ब्रोकरसँग परामर्श 

घर खरिद गर्ने निर्णय गरिसकेपछि परामर्शका लागि राम्रो र भरपर्दो घरजग्गा एजेन्सी छनौट गर्नुहोस् । रियलस्टेट एजेन्टलाई घरजग्गाको बजार थाहा हुन्छ । ‘मार्केट ट्रेन्ड’ कतातिर गइरहेको छ थाहा हुन्छ । कुन ठाउँमा कति मूल्य छ, कतातिर व्यवस्थित बस्ती बसिरहेको छ, कुन ठाउँमा के–के सुविधाहरु छन्, विकास निर्माण कता हुँदैछ भनेर एजेन्टले जानकारी राखेका हुन्छन् ।

तपाईंले अनुभवी र प्रोफेसनल एजेन्ट छनौट गर्नुपर्छ । आफुलाई घर खोजिदिने एजेन्ट आफुले विश्वास गरेको हुनुपर्छ । पारदर्शी कारोबार र व्यवहार गर्ने एजेन्ट छान्नुपर्छ जुन एजेन्टले तपाईंको आवश्यकता बुझेर सही सल्लाह सुझाव दिन सकोस् । कतिपय एजेन्टले सुरुमै ‘फि’ लिनुहुन्छ, कतिले लिनुहुन्न । सकेसम्म ‘फि’ लिएर प्रोफेसनल रुपमा काम गर्ने एजेन्ट छान्नुहोस् । किनभने, प्रोफेसनल काम गर्ने राम्रो एजेन्टहरुले आफ्नो ‘फि’ लिन्छन् ।

तपाईंले राम्रो एजेन्ट छान्नुभयो भने घर पनि राम्रो भेट्याउने सम्भवना हुन्छ । आफुले खोजेको जस्तै घर किन्न पाउनुहुन्छ ।

अहिले बजारमा ‘फि’ नलिएर पनि काम गर्ने एजेन्ट घरघरमा भेट्नुहुन्छ । उनीहरु ‘प्रोफेसनल’ नहुन पनि सक्छन् । भोली घरधनी र तपाईंबीच भेट हुन नदिएर मोटो रकम मार्जिन राखेर घर भिडाउन पनि सक्छन् । तपाईंले खोेजेको जस्तो घर नपाउन पनि सक्नुहुन्छ । पछि पछुताउन पनि पर्न सक्छ । ‘अनप्रोफेसनल’ एजेन्टसँग काम गर्दा भोली समस्या आयो भने त्यसको जिम्मेवारी लिने हुँदैनन् । तपाईंलाई जसरी पनि घर भिडाउने र कमिसन झ्याम्म पारिहाल्ने उनीहरुको सोँच हुन सक्छ ।

हामीले सब्जी किन्दा त ओल्टाई पल्टाई गरेर बुझेर किन्छौं । घर किन्ने त जीवनको अत्यन्तै महत्वपूर्ण निर्णय हो नी ।

४) आवश्यक कानुनी परामर्श 

तपाईंले किन्न आँटेको घरसँग सम्बन्धीत कुनै कानुनी बाधा अड्चन त छैन ? राम्रो वकिलसँग परामर्श गरेर कुनै कानुनी अड्चन छ कि छैन सुरुमै निधो गर्नुपर्छ । नत्र नबुभी घर किन्दा पछि समस्या आइपर्न सक्छ । एजेन्टले पनि वलिक सिफारिस गर्न सक्छन् वा तपाईं आफैले पनि चिनेको वकिलसँग परामर्श गर्न सक्नुहुन्छ ।

५) आफुसँग बस्ने छिमेकी कस्तो छ त ?

घर किन्दा सबैभन्दा ध्यान पु¥याउनुपर्ने पक्ष हो । छिमेकी नबुझी घर किनेर सर्दा भोली पछुताउनु पर्न सक्छ । यदि तपाईंलाई घर मन पर्यो र किन्ने निधोमा पुगिसक्नु भयो भने एक हप्तासम्म विहान, दिउँसो र साँझ त्यो ठाउँमा पुगेर छिमेकीको बारेमा बुझ्दा राम्रो हुन्छ ।

आफु बस्ने ठाउँको छिमेकी राम्रो हुनुपर्छ । वरिपरिको समाज र त्यहाँ हुने गतिविधिहरु आफै गएर नियाल्नुपर्छ । घरमा महत्वपूर्ण समय बिताइन्छ । पुरै परिवारका सदस्यहरु बस्नुपर्ने हुन्छ । यकिन गर्नुहोस् कि त्यो छिमेकमा एडजस्ट गरेर बस्न सकिन्छ कि सकिदैन । आफ्नो घर भएको ठाउँ शान्त हुनुपर्छ ।

६) इञ्जिनियरसँग परामर्श

तपाईंले घर पनि छान्नुभयो र छिमेकी पनि बुझ्नुभयो । अब तपाईंले आफुले किन्ने निधो गरेको घरको इञ्जिनियलाई देखाएर राम्रोसँग ‘इन्स्पेक्सन’ गर्नुपर्छ । त्यो घरको स्ट्रक्चर कस्तो छ, कस्तो मेट्रियल्स प्रयोग गरेको छ, कस्तो ठाउँमा बनाएको छ, कत्तिको बलियो बनाएको छ, कतै बिक्री गर्ने हिसावले कमसल पो बनाएको छ कि, घरको चार किल्ला पनि ‘क्लियर’ भएको हुनुपर्छ ।

७) बैनाको तयारी तथा जानकारी

तपाईंले बैना गर्नुअघि कति दिनमा पास गर्न सक्नुहुन्छ निश्चित हुनुहोस् । स्रोत कसरी जुटाउन सक्नुहुन्छ त्यसमै कति दिमा घर पास गर्ने भन्ने कुरा अडिएको हुन्छ । मैले यति दिनमा घर पास गर्न सक्छु भनेर बैना कागजमा स्पष्ट लेख्नुपर्छ । सबै कुरामा निश्चित भइसकेपछि मात्र बैनाको समय निर्धारण गर्दा राम्रो हुन्छ । बैना गर्दा पनि राम्रो वकिल प्रयोग गर्नुहोस् ।

बैनाको कागज जति बलियो हुन्छ त्यती भोली आउन सक्ने लफडाबाट बचिन्छ । बैना रकम कति राख्ने भन्ने विषयमा घरधनी र खरिदकर्ताबीच समझदारी हुनुपर्छ । दुबैलाई समस्या नपर्ने गरी बैना रकम बुझाउँदा ठिक हुन्छ ।

८) पास गर्ने प्रकृयाको जानकारी

बैना गरिसकेपछि तपाईंले घर आफ्नो नाममा पास गर्नुपर्ने हुन्छ । बैनाबट्टा गरिसकेपछि ब्रोकर वा सेलरसँग सम्पर्कमा रहेर अझै पनि केही समस्या आइहाल्छ कि भनेर काम गर्नुपर्छ । कुनै समस्या आएमा ब्याक हुन पनि सकिन्छ । बैना गरिसकेपछि पास नहुञ्जेल रकम जुटाउनतर्फ लाग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button