अन्धविश्वासमा विश्वास

पुरुषोत्तम पोखरेल
काठमाडौँः अन्धविश्वासको शाब्दिक अर्थ हो आँखा चिम्ले विश्वास गर्नु या सोंच बिचार नगरी स्वीकार गर्नु। अन्धविश्वास एउटा यस्तो विश्वास हो, जसको उचित कारण हुन सक्दैन। सामाजिक रूपमा यो पुरानो रुढीबादी बिचारबाट प्रभावित भएर गरिने कार्यमा कारण अज्ञात भएको हुनाले यसलाई अन्धविश्वास भनिएको हो।

भगवत गीतमा भनिएको छ कि तपाईंलाई विश्वासको परिभाषा जान्नु छ भने सर्वप्रथम आफ्नो मनलाई सोध्नुहोस्। वास्तममा विश्वास एउटा यस्तो धरातल हो जसमा सबै थोक टिकेको हुन्छ। स्वभावतः हामी कसै माथि विश्वास गर्दछौं या अविश्वास यी दुबै परिस्थितिले कहिले काहीँ घातक स्थिति पनि निम्त्याउन सक्छ।

अविश्वासले हाम्रो मनमा एक प्रकारको त्रास र असुरक्षालाई जन्माउँछ भने त्यही असुरक्षाले आक्रोसलाई जन्माएको हुन्छ। अन्धविश्वास सत्य र वास्तविकताबाट धेरै टाढा र तर्किने पक्षमा रहेको हुन्छ। यसैगरी अन्धविश्वासमा व्यक्तिले अलौकिक शक्तिमा विश्वास गर्दछ र उसले ब्रह्माण्डको बिज्ञानलाई पनि बुझेको हुदैन, नत उसलाई सत्य र झुठोको थाहा पनि हुदैन।

नत त्यसको बैज्ञानिकतालाई उसले त्यसै कारणले मान्दछ कि अरुले पनि सोही अनुसार लोक परम्पराको अनुशरण गर्दै आएका हुन्छन। प्रायः यस्ता विषयहरुमा अधिकांश ब्यक्तिहरु कुनै प्रकारको टीका टिप्पणी गर्न चाहदैनन्, अनि कुनै प्रकारको नकारात्मक कुराहरु त्यति मन पराउंदैनन्।

उदाहरणको लागि हाम्रो समाजमा बिरालो मारे पाप लाग्छ भन्ने मान्यता छ। जसबाट बिरालो मर्छ उसलाई पाप लाग्ने भयो। अब पापबाट मुक्त हुन बिरालोको वजन बराबर सुनको बिरालो दान गर्नु पर्यो। यति महंगो दण्डका कारण कसैले बिरालो मार्न चाहदैनन्। यस सम्बन्धमा गाउँका बुढापाकाहरुलाई सोध्यो भने अलमलिंदै भन्छ्न खोइ पहिले देखि चलेको चलन हो, अरु थाहा भएन।

यस्ता कुरामा ठोस आधार र तर्क दिन सक्दैनन्। फेरिपनि यस्ता अन्धविश्वासी प्रथाहरु एक अर्काले जानी नजानी किसिमले अनुशरण गर्दै आएको हुँदा यसलाई रुढीबादीता भनिन्छ। जब कसैले यसबाट व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्छ या जीवीकोपार्जनको माध्यम बनाउँछ भने त्यस्तालाई समाजमा पाखण्डी भन्ने चलन छ। यस्ता पाखण्डीहरु हाम्रो समाजमा छ्याप छ्याप्ति भेटिन्छन्, जसले हाम्रो हिन्दु धर्म संस्कृतिको बदनाम गर्दै हिंडेका छन्।

 

आजको एक्काइसौं शताब्दीको बैज्ञानिक युगमा आएर पनि समाज भित्र विभिन्न थरीथरीका सगुन अपसगुनले मानिसलाई असमंजस र द्वीबिधामा पारेको छ। जस्तो की हाछ्यूँ आएमा अशुभ हुने, बिरालोले बाटो काट्यो भने बाटो परिबर्तन गर्ने, घाँटी खसखस गरे कहीं कसैले कुरा काट्यो, हरियो खुर्सानी र कागती झुण्ड्याएमा कसैको नजर नलाग्ने, गाडीको अगाडि थोत्रो जुत्ता झुण्ड्याँउदा अशुभ स्थिति नाउने, मन्दिरमा घण्ट बजाउँदा देउता खुसी हुने, घरको अगाडि काग कराए शुभ समाचार मिल्ने, दही चिनी खाँएर हिंड्दा शुभ साईत हुने, १३ अंक अशुभ मानिने, सुर्यास्त पछि कुचो लाउन नहुने, उत्तर सिरान गर्न नहुने, केटाकेटीहरुलाई निधारमा कालो टीका, कम्मरमा कन्धनी र घाँटीमा जन्तर बाँधेमा रोग ब्याधी बिघ्न बाधा नआउने आदि जस्ता अन्धविश्वासी समाजमा एउटा स्थिति छ भने, अर्कोतिर भूत वर्तमान र भविष्यको भविष्यवाणी जानेर क्षणिक तुष्टिकरण लिनेहरु पनि देखिन्छ्न।

विदेश यात्रा, विवाह, नोकरी, व्यापार लाभ, बिरामी उपचार, मुद्दा मामिला, असल सम्बन्ध आदिको समाधान खोज्न ढोङ्गी गुरु, बाबा, चर्चका पादरी, धामी झाँक्री तन्त्र मन्त्र ,भूत प्रेत भगाउन, संकट हटाउने चक्करमा हजारौंहजार अन्धविश्वासीहरुले धन सम्पत्ति समय दुःख कष्ट सहेर आफ्नो घर परिवारको जीवन बर्बाद बनाएका घटनाहरु आँखा अगाडि झलझल्ती देखि रहेका छौं।

प्रायः जुन काम थाल्यो त्यसमा असफलता र बिघ्न बाधा आउने, अनि जीवनको हरेक मोडमा निराशा नै निराशा हात लाग्नेहरु अन्तः जीवन देखि थाक्नेहरुनेहरु अन्धविश्वास तिर दौडिएको देखिन्छ तर यहाँ हरेक क्षेत्रमा सफलता र विजय प्राप्तगर्ने कुलिन घरानाका घर परिवार र बडेबडे विद्वानहरुको पनि उस्तै तँछाडमछाड अझ चाख लाग्दो छ।

नेपाली समाजमा यस्ता मान्यताहरु आज मात्र नभई बर्षौ बर्ष देखि चल्दै आएको लोकप्रथा हाम्रो समाजमा मात्र होइन, भारत चीन पाकिस्तान जापान बेलायत अफ्रिका लगायत धेरै देशहरूमा पनि रही आएका छन्। अझ अफ्रिका यस्तो देश हो, जहाँ मानिसको जिन्दगीको पल पलमा धर्म र बिज्ञान भन्दा बढी अन्धविश्वासको बर्चस्व रहेको हुन्छ।

 

आदिम काललमा मानिस उहीँ जंगली अवस्थामा अशिक्षि र रुढीबादी समाजबाट माथि उक्लिन सकेका थिएनन्। यस्तो अवस्थामा भुकम्प बर्षा चट्याङ बाढी पहिरो, आँधी आदि पृथ्वीमा घटित घाटनाहरुको कारण थाहा नपाउँदा कुनै अदृश्य शक्ति प्रति आस्था जाग्ने गर्द्थ्यो र कुनै शक्तिको अस्तित्वलाई स्वीकार्ने गर्दथ्ये।

त्यसबेला मानिस प्रकृति पुजक हुन्थ्ये र भूत प्रेत पिशाचहरु माथी विश्वास राख्न थाले पछी मानव समाजमा कहीं न कहिँ अन्धविश्वासको थालनी भएको मानिन्छ। अर्को मतानुसार जब देखि मूर्ति पूजाको प्रारम्भ भयो तबदेखी अन्धविश्वासको आरम्भ भएको मानिन्छ। भनिन्छ जुन समुदाय र जातिमा अन्धविश्वासको प्रभाव बढी हुन्छ त्यस समुदाय र जातिमा विवेक शुन्यता जस्तै अवस्था रहने गर्दछ र सृष्टि विरुद्ध मान्यताहरु चल्न थाल्छन्। यस्तोमा केही धुर्त स्वार्थी र अविवेकीहरु त्यसको आडमा सिधासाधा जनतालाई भ्रममा पारेर आफ्नो दुनो सोझ्याउन पनि पछी पर्दैनन्। यस प्रकारको अन्धविश्वासको चक्करमा केवल औंठा छाप र बिपन्न बर्गका ब्यक्तिहरु मात्र पर्दैनन, बरु सरकारका उच्च पदाधिकारी राजनितिज्ञ विद्वान बुद्धिजीवी ब्यापारीहरु पनि अछुतो रहन सकेका छैनन्।

झ्वाट्ट हेर्दा अन्धविश्वासको जरो यति गहिरो छ कि यसको गोलचक्कर बाट उम्किन कठिन जस्तै देखिन्छ। जबकी आजको यो बैज्ञानिक युगमा पनि सोंच र चिन्तन उहीँ पुरातन नै छन्। यसो भनी रहदा कता कता केही प्रथाहरुमा भने विश्वसनीय आधारहरु नभेटिएका भने होइनन्, जस्तो कि शुभ यात्रामा दही चीन खाने कुरामा यसले पेटलाई शितलता प्रदान गर्दछ र चीनीको ग्लुकोजले शरीरमा स्फुर्ती दिन्छ, कागती र खुर्सानी झुण्ड्याउँदा त्यस भित्र रहेको सायट्रीक एसिडले ससाना किराहरुलाई घर भित्र पस्न दिदैन्।

मन्दिरको घण्टी बजाउँदा घण्टीबाट निस्कने ध्वनिले बेक्टेरियाहरुलाई मार्दछ र शरिरमा सक्रियता प्रदान गर्ने जस्ता कुरालाई बिज्ञानले पुष्टि गरि सकेको हुँदा सबै लोक परम्परा या प्रथा गलत हो भन्नु पनि हतार हुनेछ। मुलतः हामी भगवानको बिषयमा अति नै रुढीबादी बनेका हुन्छौं। त्यसको कारण स्वयंलाई बुझ्नु र सत्यलाई खोज्नुको साटो लहैलहैमा अरुले बताएको बाटोमा भटकेर रनभुल्लामा पर्ने गरेका छौं। बाटो देखाउने ब्यक्ति सही हुन सक्छ र गलत पनि।

यो ब्यक्तिको आफ्नो विवेकशीलताले ब्यक्तिलाई गलत र सहीको अन्तर बताउने हो। अझ अर्को हिसाबले भन्नू पर्दा जब मानिसले आकाशबाट वर्षा के कारणले हुन्छ भन्ने कुरा थाहा पाउँदैन तबसम्म जन मानसमा अदृश्य शक्तिकै भ्रम परेको हुन्छ। जब बिस्तारै बिस्तारै उसको ज्ञान बिज्ञानले बर्षाको कारण बुझ्न थाल्छ, तब उ भित्रको अवधारणा स्वतः बदलिन पुग्दछ। यसरी आफ्नो स्वविवेकले ठम्याउन सकेमा अन्धविश्वास! नठम्याए सम्म विश्वासै विश्वास !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button