
के मैले अर्कैको स्वामित्वको सम्पत्ति धितो राखेर ऋण पाउन सक्छु ?
नेपालमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्रोपर्टी धितो बन्धक नराखी घरकर्जा दिँदैनन् । तपाईंको धितो र आम्दानीलाई हेरेर मात्र बैंकले ऋण दिन्छन् । मतलब, तपाईंसँग धितो राख्ने प्रोपर्टी छैन भने बैंकले ऋण पत्याउँदैनन् ।

तपाईं आफुसँग धितो राख्ने प्रोपर्टी नभएर ऋण पाउँदिन कि भन्ने चिन्ता नलिनुस् । यदि तपाईंको परिवारमा कसैको नाममा सम्पत्ति छ भने त्यही सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन सक्नुहुन्छ ।

मेरो सहोदर दाइ वा सहोदर भाइको सम्पत्ती हो , मलाई यो सम्पत्ती धितो राखी ऋण झिक्नलाई दाजु वा भाइबाट कुनै रोकावट छैन , आफ्नो स्वेच्छाले नै मलाई ऋण झिक्न धितो राख्नुस भनेका छन् भन्दै धेरै सेवाग्राही आउनुहुन्छ। अंशबण्डा भएको छ भने आफ्नै दाजुभाइको सम्पत्ती धितो राखेर समेत घरकर्जा लिन पाइँदैन, नेपाल बंगलादेश बैंकका म्यानेजर हेमन्त पन्तले बताए।
एनएमबि बैंककी कर्पोरेट रिलेसनसीप म्यानेजर श्रद्धा अमात्यका अनुसार एकाकर(नछुट्टिएको) सदस्यको स्वामित्वमा रहेको सम्पत्ती धितोमा राखेर बैंकबाट ऋण लिन सकिन्छ । तर, एउटै परिवारभन्दा बाहिरको व्यक्तिको नाममा रहेको सम्पत्ती धितोमा राखेर ऋण लिन पाइँदैन ।
याद राख्नुहोस्, बिहेबारी भएर गएका दिदी बहिनी र अंशबण्डा गरेर छुट्टिएका दाजुभाईको नाममा रहेको सम्पत्ती धितो राखेर ऋण लिन पाइँदैन । राष्ट्र बैंकको निर्देशनले स्पष्ट ब्याख्या गरेको छ, ‘एकाघर घरपरिवारको मान्छे को हो, को होइन ? जस्तै, श्रीमान–श्रीमती, बुवा–आमा, शाशु–शशुरा, नछुट्टिएको दाजु–भाई, भाउजू–बुहारी एकै घरपरिवार सदस्य मानिन्छन्।’
माथि उल्लेखित पारिवारिक सदस्यको नाममा रहेको जग्गा धितो राख्न पाइन्छ, त्यसका लागि सम्बन्ध स्पष्ट खुल्ने कागजपत्र (नागरिकता, बिबाह दर्ता) भने बैंकमा पेस गर्नुपर्ने हुन्छ ।
‘एकाकर परिवारका सदस्यको धितो बन्धक राखेर बैंकले ऋण प्रवाह गरिरहेका छन्, अमात्यले भनिन्, ‘तपाइले बुवा–आमा, दाई–भाईको नाममा रहेको जग्गा धितोमा राखेर ऋण लिन सक्नुहुन्छ ।’
एकाघर परिवारको सदस्यको धितो राखेर ऋण लिनका लागि सम्बन्धित व्यक्तिको अनुमति भने अनिवार्य हुन्छ । सम्पत्ति जसको नाममा छ, उ ग्यारेन्टर बसिदिनुपर्ने हुन्छ । एकाघर परिवारको नाममा रहेको सम्पत्ति धितो राखेर ऋण निकाल्नका लागि ज्वाइन्ट (संयुक्त) होमलोनको प्रकृयामा जानु पर्दैन । त्यसको प्रकृया छुट्टै रहेको छ ।
एकाघर परिवारभित्र जसको नाममा सम्पत्ति छ, उसले स्वीकृति दिएर जमानी बसेपछि परिवारको जुनसुकै सदस्यको नाममा बैंकले ऋण दिन्छन् । तर, ऋण लिने व्यक्तिको निश्चित आम्दानी भने अनिवार्य हुनुपर्ने पन्त बताउँछन् ।नत्र, उसले एकाकर परिवारभित्रकै नियमित आम्दानी हुने अरु सदस्यहरुलाई को–एप्लिकेन्ट राखेर संयुक्त कर्जा लिन सक्छ । बैंकबाट कर्जा लिँदा परिवारका अरु सदस्यहरुको पनि आम्दानी देखाउन सकिन्छ ।
नेपाल राष्ट्र बैंकको नियमअनुसार थर्ड पार्टी (बाहिरको व्यक्ति)को प्रोपर्टी धितो राखेर ऋण दिन नमिल्ने व्यवस्था छ । उनी भन्छिन्, ‘कसैले पनि साथीको जग्गा वा घर धितो राखेर ऋण पाउँदैन ।’
एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर ऋण निकाल्न त्यति जटिलता पनि नहुने बैंकहरु बताउँछन् । ‘राष्ट्र बैंकको नीति र बैंकको क्राइटएरिया पुरा गरेर ऋणीको धितो र आम्दानी हेरेर ऋण प्रवाह गर्छौं’ राष्ट्रिय वाणिज्य बैंक, बौद्ध शाखाका प्रमुख सुरेश सापकोटा बताउँछन्, ‘एकाघर परिवारको धितो राख्दा नाता प्रमाणित गरेको भए राम्रो हुन्छ, यदि गरेको छैन भने पनि अरु कागजपत्र हेरेर बैंकले ऋण दिन्छन् ।’
बुहारीले सासुु–ससुराको नाममा रहेको जग्गा धितो राखेर ऋण लिन भने विवाह दर्ता प्रमाणपत्र अनिवार्य हुनुपर्छ । तर, नेपालमा बुहारीको नाममा होइन कि छोराको नाममा ऋण लिने प्रवृत्ति छ । ‘बुहारीको आम्दानी देखाएर ऋण लिँदा पनि छोराकै नाममा लिने चलन छ’ अमात्य भन्छिन् ।