यसरी गर्न सकिन्छ पैतृक सम्पत्तीमाथि हकदाबी

पैतृक सम्पत्ति नेपालमा अधिकांश मानिसको सम्पत्तिको पहिलो स्रोत हो । बाबुआमाको सम्पत्तिमाथि सन्तानको हक लाग्‍ने सम्पत्ति नै पैतृक सम्पत्ति हो । कतिपयले सन्तानकै लागि भनेर राम्रै सम्पत्ति जोडजाड पनि गरिदिएका हुन्छन् । भ्रष्‍टाचार गरेर वा अकुत सम्पत्ति कमाएर भएपनि आफु र सन्तानका लागि सम्पत्ति जोडिदिने परम्परा नै बसिसकेको छ ।

नेपालमा पैतृक सम्पत्ति हकदाबी सम्बन्धित व्यक्तिका छोराछोरीहरुले गर्न पाउँछन् । यदि छोरीहरु विवाह गरेर गइसकेको खण्डमा पैतृक सम्पत्तिमा हकदाबी गर्न पाइँदैन । तर, छोराहरु नभएको खण्डमा भने विवाह भइसकेका छोरीहरुको पनि पैतृक सम्पत्तिमा स्वतः हकदाबी लाग्छ ।

कसलाई हुन्छ पैतृक सम्पत्तिको अधिकार ?

नेपालको सन्दर्भमा कुरा गर्दा पैतृक सम्पत्तीको हकदाबी गर्ने अधिकार पनि उसका सन्तानहरुलाई मात्र हुने गर्छ । तर, कतिपय अवस्थामा पैतृक सम्पत्तिको हकदाबी गर्ने छोराछोरी नहुँदा दाजूभाईले पनि हकदाबी गर्न पाउने व्यवस्था छ । यदि कोही पनि सम्पत्तिको हकदाबी गर्ने व्यक्ति नभएमा उसले इच्छाएको व्यक्तिलाई सम्पत्ती बकसपत्र गरिदिन सक्छन् ।

नेपालमा दिदी बहिनीलाई सम्पत्ति बकस गरेर दिने चलन छ । आफुलाई बुढेसकालमा संरक्षण र पालनपोषण गर्ने व्यक्तिलाई पनि आफ्नो सम्पत्ति बकस गरेर दिने चलन छ । तर, सामान्यतयाः पैतृक सम्पत्ति मुख्य अंशियारहरुले पाउने गर्छन । पैतृक सम्पत्ति बण्डा गरेर मुख्यअंशियारले भोगचलन गर्ने कानुनी व्यवस्था छ ।

साक्षी बस्‍ने अंशियारले पैतृक सम्पत्ती यति बिक्री वितरण भएको छ भनि हकदाबी गर्न पाउँदैन । उसको पनि मञ्जुरी हुने भएकोले उसले हकदाबी गर्न मिल्दैन । सम्पत्ति किन्दा किन्‍ने पक्षको मान्छे साक्षी बस्‍नु पर्दैन । तर, बिक्री गर्दा साक्षी बस्‍नुपर्छ र साक्षी बस्‍नु भनेकै उसको मञ्जुरीनामा हुनु हो । यसर्थ उसले सो सम्पत्तीमाथि हकदावी गर्न पाउँदैन । साक्षी नबसेको अंशियारले भने तोकिएको म्यादभित्र अदालतमा लिखत बदर गरी आफ्नो हक कायम गरि पाउँ भनेर मुद्दा हाली हकदावी गर्न पाउँछ ।

पहिलो चरण: मुद्दा दायर

हकदावी गर्नको लागि निज व्यक्तिले फिरादपत्र तयार गरी आफ्नो क्षेत्राधिकार पर्ने जिल्ला अदालतमा सो मुद्दा दायर गर्नुपर्छ । फिरादपत्र भनेको मुद्दा दर्ता गर्ने लिखत हो । मुद्दा दर्ता गर्ने व्यक्ति (पक्ष) वादी हुन्छ र जसको विरुद्धमा मुद्दा दर्ता गरिएको हो उ चाहिँ प्रतिवादी हुने गर्छ । फिरादपत्र कानुन व्यवसायीले तयार पारिदिन्छन् र सो फिरादपत्र अदालतमा लगेर दर्ता गरी मुद्दाको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

फिरादपत्र दर्ता गरेकै भरमा उसले कानुन व्यवसायी मुकरर गरेको मानिदैन । कानुन व्यवसायी मुकरर गर्ने भनेको मुद्दा दर्ता गरेपछिको काम हो । कानुन व्यवसायी मुकरर गर्नु भनेको फलानो कानुन व्यवसायीलाई मेरो मुद्दा पुर्पक्षको लागि सम्बन्धित अदालतमा बहस पैरवी गर्नको लागि नियुक्ति गरेको छु भन्‍ने हो ।

फिरादपत्र दर्ता भएपछि सम्बन्धित अदालतले प्रतिवादीलाई फिरादपत्रको जनाउ दिनुपर्छ । त्यसपछि प्रतिवादीले तोकिएको म्यादभित्र प्रत्युत्तर दिनुपर्छ । अनिमात्र, अदालतमा पेशी चढ्छ र दुबै पक्ष तारेखमा बस्नुपर्छ । पेशीको दिनमा सम्मानित जिल्ला अदालतको न्यायाधीश समक्ष दुबै पक्षका कानुन व्यवसायीले बहस पैरवी गर्छन् ।

बहसको प्रक्रिया बढेपछि अदालतले साक्षी झिकाउने र बकाउने काम पनि गर्न सक्छ । त्यसपछि नपुग भएका कागजातहरु केहि बाँकी भए सम्बन्धित मालपोतबाट नापनक्सा झिकाउने आदेश पनि अदालतले दिने गर्छ ।

दोस्रो चरण: अदालतको फैसला 

पैतृक सम्पत्ति हकदावी गर्नेले आवश्यक प्रमाण जुटाउन नसकेको खण्डमा तथ्यगत आधारमा उसको प्रमाण बलियो हुँदैन । वादी अंशियार हो भन्‍ने प्रमाण उसको जन्मदर्ता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रबाटै प्रष्‍ट हुन्छ । सबै प्रमाण र वकिलको बहस अनुसार न्यायाधीशले उचित फैसला गर्छन् ।

फैसला  कार्यान्वयनको लागि सम्बन्धित मालपोत कार्यालयमा अदालतबाट फैसलाको प्रतिलिपि सहित पत्राचार गरी पठाउने काम हुन्छ । फैसलाको कागज बमोजिम मालपोत कार्यालयमा कार्यान्वयन गर्नको लागि दाखा गर्न प्रक्रिया अघि बढाउनुपर्छ । यसको लागि यति नै समय लाग्छ भनेर कुनै समयावधी तोकिएको हुँदैन ।

तेस्रो चरणः मालपोतमार्फत् फैसला कार्यान्व्यन

अदालतको फैसलाअनुसार जसको नाममा सो सम्पत्तीको पुर्जा बनाउनुपर्ने हुन्छ, मालपोतबाट उसैको नाममा लालपुर्जा तयार हुन्छ । यो प्रावधानको मुलुकी देवानी संहिता ऐन २०७४ मा स्पष्‍ट व्यवस्था गरिएको छ।

पैतृक सम्पत्तीमाथि बिहेवारी भएर गएका छोरी चेलीले हकदाबी गर्न पाउँदैनन् । तर, कुनै अन्य अंशियार नभएको खण्डमा भने हकदाबी गर्न पाउने व्यवस्था रहेको छ । अंशियार नै नभएको अवस्थामा सम्पत्तीवालाले आफूले इच्छाएको कुनै व्यक्तिलाई शेष पछिको बकसपत्र गरिदिन पाउँछन् ।

सम्पत्तीवाल व्यक्तिको बाचुञ्‍जेल स्याहार सुसार गर्ने र मृत्यूपश्‍चात काज, किरिया, पिण्डदान गरीसकेपछि जसलाई शेषपछिको बकसपत्र गरी दिएको हो उसले मृत्युदर्ता प्रमाणपत्र बनाएर त्यसको आधारमा सो सम्पत्ती आफ्नो नाममा दाखा गरेर लिन सक्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button