
नयाँ घर किन्ने कि पुरानो ? यसरी गर्नुहोस् लाभहानीको तुलना
घर किन्नु भनेको तपाईको जीवनको सबैभन्दा ठूलो र महत्वपूर्ण लगानी हो ।

जब घर किन्ने सवाल आउँछ तपाईले धेरै जटिल प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ । चार पर्खालले घेरिएको एउटा संरचनालाई ‘घर’ मान्न तपाइको मन त्यसमा गहिरोसँग बसेको हुनुपर्छ ।

आफ्नै घरमा बस्ने सपना पुरा गर्न तपाइसँग दुईवटा बिकल्प छन– पहिलो, आफै घर बनाउने र दोस्रो बनिसकेको घर किन्ने ।
यदि घर बनाउने झण्झट गर्न मन छैन भने तपाइले बनिबनाउ घर किनेर तत्कालै सर्न सक्नुहुन्छ । अब प्रश्न उठछ, नयाँ किन्ने कि पुरानो ?
सामान्यतः सवैलाई नयाँ चिज नै मनपर्छ । तर, घरमा गरिने लगानीको मात्रा हेरेर धेरै प्रयोगकर्ता पुरानै घर किन्न पनि रुची गर्छन् । बजारमा हजारौं यस्ता पुराना घर बिक्रिमा छन, र हरेक दिन सयौं यस्ता घर किनबेच भइरहेका छन् ।
पुरानो घरमा लगानी गर्ने वा नयाँ घर किन्ने भन्ने निर्णय तपाईकै प्राथमिकताका आधारमा तय हुने कुरा हो ।
आज हामी नयाँ घर र पुराना घरका विशेषता र खरिद गर्दाका दुबै पक्षका फाइदा र बेफाइदालाई सुक्ष्म ढंगले ब्याख्या गर्दै छौं ।
पुरानो घर
पुरानो घरमा विभिन्न परिस्थितीहरुको मिश्रित संयोजन हुन्छ । पुरानो घर पुरानै शैलीको संरचनामा बनेका हुन्छन र यसको आकर्षण बेग्लै हुन्छ । यसको संचचनामा विभिन्न किसिमका क्षति आएको हुन सक्छ र परिमार्जन वा पुनर्निमाणको खाँचो पर्छ । यदि तपाईले पुरानो घरलाई आजकल बन्ने गरेका नयाँ घरसँग दाज्नु हुन्छ भने अवश्य पनि गुणस्तरको सम्बन्धमा यसले आफ्नो स्थायित्व कायम राखेकै हुन्छ जुन अहिलेका आधुनिक घरहरुमा हराउँदै गएको पाइन्छ । पुरानो घरको प्रमुख आकर्षण भनेको खुला ठाँउ हो । कोठाहरुको तुलना गर्नुपर्दा पनि पुराना घरहरुमा अधिक फराकिला कोठाहरु रहने गर्छन । त्यस्तै बगैंचाहरु पनि धेरै क्षेत्रफलमा बनाइन्थ्यो ।
पुरानो घरका सकारात्मक पक्षहरु
प्राचीन संरचना: पुराना घरहरु दशकौ अघि बनेका पनि हुन्छन । पुराना घरमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर उच्च हुने गर्थ्यो, त्यसैले यो दिगोरुपमा मजबुत भएर रहन सक्छ । यसको स्थायित्व र टिकाउपनमा विश्वास गर्न सकिन्छ । यसको संरचनामा इतिहास झल्किने गर्छ । हातैको प्रयोगले प्राचीन कलात्मक शैलीका संरचनामा निर्मित यस्ता घरको बेग्लै आकर्षण रहने गर्छ । यसको झ्याल ढोकाको बनावट नै सुन्दर खालको हुने गर्छ । कारीगरहरुको हातले बनाएको डिजाइनमा राष्ट्रको इतिहास र संस्कृतिको झल्को पाइन्छ ।
फराकिलो र खुला ठाँउ : धेरै जसो पुराना घरहरु जग्गाको मूल्य सस्तो हुँदा बनाइएका हुनाले ठूलो क्षेत्रफलमा बन्ने गर्थे । घरका कोठाहरु देखि लिएर बगैंचा, आँगन, चोक सबै फराकिला र खुला हुने गर्छ । क्षेत्रफल ठूलो हुने भएकाले कोठाहरु ठूलो, फराकिलो र प्रशस्त घामको प्रकाश र हावा आउने खालका हुन्छन ।
मजबुत संरचना : अहिलेका धेरैजसो घरहरु पातलो गारो र पातलो प्लास्टर गरी बनाइएका हुन्छन । पुराना घरमा पर्खाल, भित्ताहरु बलियो तवरले बनाउने र बलिया ढुङ्गा र इट्टाको प्रयोग हुने गर्थ्यो । यसरी स्वभावैले पुराना घरहरुको संरचना त्यसको बनावट तुलनात्मक रुपमा बलियो र मजबुत हुने गर्छ ।
स्थापित छिमेकी : केहि पुराना घरमा परिवारका केहि पुस्ताले जीवन गुजारीसकेका हुन्छन । त्यस्तोमा धेरै छिमेकिले एक अर्कालाई राम्रो सँग चिन्ने र बेग्लै किसिमको आत्मीयता रहने गर्छ । पुराना घर वरपरका छिमेकि र सम्बन्ध प्रगाढ किसिमको हुने गर्छ । त्यस्तो परिवेशमा परस्परमा असल सम्बन्ध हुनुका साथै हरेक समस्या र कठिनाइमा एकता र सहयोगको भावना जागृत भएको हुन्छ ।
प्रशस्त पार्किङ्ग सुविधा : जग्गाको मूल्य वृद्धि सँगै अहिले थोरै क्षेत्रफलमा घर बनाउने गरिन्छ । आवश्यकता धेरै हुन्छ तर जग्गाको पहुँच कम हुने भएकोले हरेक सुविधा र ठाँउ संकुचनमा पर्छन । साँघुरो गरि पार्किङ्गको लागि ठाँउ छोडिन्छ, कतिपय घरमा त एउटा गाडि अट्ने ठाँउ पनि रहेको हुँदैन । पुराना घरहरु निश्चय नै विशाल क्षेत्रफलमा बनाइने हुँदा सबै आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हुन्छ । पार्किङ्गको लागि ठूलो ठाँउ छुट्याएर व्यवस्थित गरिएको हुन्छ । एकाध ठाँउ बाहेक पुराना घरमा पार्किङ्गको लागि खासै चिन्ता गरिरहनु पर्दैन ।
पुरानो घरका बेफाइदा वा नकारात्मक पक्षहरु
अधिक मर्मत : पुराना घरका हरेक चिज समय समयमा बिग्रिरहन्छन र मर्मतको आवश्यकता पर्छ । पुरानो सामान भएकाले केहि पनि टिकाउ रहँदैन र मर्मतमा महँगो रकम खर्चिनुपर्ने हुन्छ । घरको वायरिङ्ग र प्लम्बिङ्ग पुरानो ढाचाको हुने हुँदा त्यसमा चुहावट आउने गर्छ । ती सबै मर्मत गर्दा बजेट धेरै लाग्छ । भित्ताका रङ्गहरु खुइलिने र उप्किने हुँदा त्यसको मर्मत र सजावटमा पनि धेरै रकम खर्च हुन्छ । यस्तै पुराना निर्माणमा प्रयोग भएका चीजहरु अहिले सहजरुपमा उपलब्ध नहुने भएकोले त्यसको मर्मत गर्न समय र पैसा दुबै अधिक मात्रामा खर्च हुन्छ ।
नवीकरण : बढ्दो आधुनिकतामा बाचेका हामीलाई सबै पुराना चीज बिच सामञ्जस्य मिलाउन असहज हुन्छ । पुराना घरहरु पुरानै शैलीका हुने भएकाले हेर्दा त आकर्षक देखिन्छन तर हाम्रो जीवनशैली भन्दा भिन्न हुने भएकाले हामी संकुचित जीवनयापन गर्न बाध्य हुनुपर्ने हुन्छ । तर हामी आफ्नो आवश्यकता र आकांक्षालई मार्न सक्दैनौ । त्यसैले घरलाई परिमार्जन गरी नयाँपन ल्याउने चेष्टा राख्छौ । हामी नयाँ प्रयोग चाहन्छौ र घरको स्वरुप समय सुहाउदौ बनाउने योजना बुन्छौ । यसलाई व्यवहारमा ल्याउँदा निकै रकम खर्च हुने गर्छ । पुरानो शैलीको सजावटलाई आधुनिकिकरण गरेर नयाँ र सुन्दर बनाउन खर्च धेरै लाग्न सक्छ ।
नयाँ घर
नव निर्मित घरका थुप्रै फाइदा र विशेषताहरु छन, जुन पुरानो घर खरिद गर्दा पाइँदैन । नयाँ घर कसैले पनि प्रयोग गरेको हुँदैन, त्यहाँ भएका सुविधा सम्पूर्णरुपमा परिवारको एकल स्वामित्व रहन्छन् ।
सबै कुरा नया हुने भएकोले प्रयोग गर्न पनि सुखानुभूति प्राप्त हुन्छ । सकारात्मक पक्ष धेरै रहेका भएपनि नयाँ घरका पनि पुरानो घरसँग तुलना गर्दा केहि कमजोर पक्ष र बेफाइदा भने पक्कै छन् ।
नयाँ घरका फाइदा वा सकारात्मक पक्षहरु
कम मर्मत : नयाँ घर भर्खरै निर्माण सम्पन्न हुने भएकोले गर्दा केहि वर्षसम्मका लागि मर्मत गर्नुपर्ने वा कुनै चीजमा समस्या आइहाल्ने सम्भावना रहन्न । यसमा सबै उपकरण नयाँ राखिने हुनाले तत्काल बिग्रिहाल्ने समस्या आउँदैन । यस्तै नँया घरमा कुनै परिमार्जन र सजावटको लागि संरचना थप्ने वा निर्माण गर्नुपर्ने जरुरी रहन्न ।

तत्काल सर्न सकिने : नयाँ घरमा निर्माण र थप मर्मतको खाँचो रहँदैन । सम्पूर्ण सेवा तथा सुविधाहरु तयारी अवस्थामा रहने हुनाले तपाईको स्वागतको लागि घर पूर्णरुपमा तयार रहन्छ । घर किनेर तपाई तत्काल त्यहाँ सरिहाल्न सक्नुहुन्छ । प्लम्बिङ्ग तथा वायरिङ्गहरु व्यवस्थित तरिकाले गरिने हुँदा तपाईले चाहेको समयमा आफ्नो परिवारलाई त्यस घरमा सार्न सक्नुहुन्छ । साथै पुरानो घरमा जस्तो किन्दा खेरि त्यहा अन्य परिवार बस्दै आएका हुन्छन, उनीहरुलाई सर्नको लागि समय दिएर आफूले प्रतिक्षा गर्नुपर्ने अवस्था नयाँ घरमा हुँदैन् ।
उर्जाको बचत : नयाँ निर्माण गरिएका घरहरुमा कुशलतापूर्वक उर्जाको प्रयोग भएको हुन्छ । सामान्यतया नयाँ घरहरु वातावरण मैत्री सामाग्रीका साथ निर्माण गरिएका हुन्छन । जसले प्रभावकारी ढंगले उर्जाको कम प्रयोग गरि अधिक कार्य सम्पन्न गर्नमा सघाउ पुर्याउँछ । अहिले बजारमा नयाँ– नयाँ प्रविधिका बल्बहरु पाइन्छन जसले कम बिजुली खपत गरी अधिक प्रकाश दिने गर्छन । त्यस्तै कतिपय नयाँ घरहरुमा सोलार प्यानल जडित पनि हुने हुँदा बिजुलीको बिल कम गर्न सकिन्छ । यस्ता प्रविधी र उपकरणको उपस्थितिले कम बिजुली खपत गरी हाम्रो दैनिक जीवनशैलीमा उल्लेख्य मात्रामा प्रभावकारी नतिजा दिने गर्छ ।
अत्याधुनिक डिजाइन : आर्किटेक्ट र इन्जिनियरको ज्ञान र सीपको आधारमा र प्रतिस्पर्धाकै हिसाबले पनि बजारमा नयाँ–नयाँ डिजाइन र संरचनाका घरहरुको निर्माण गर्ने प्रचलन बढ्दो छ । नयाँ घर किन्दाको एउटा प्रमुख विशेषता यो पनि हो । नयाँ घर किन्दा परिष्कृत डिजाइनहरु पाउन सकिन्छ जसले घरलाई आकर्षक मात्र होइन मनमोहक पनि बनाउँछ ।
नयाँ घरका बेफाइदा वा नकारात्मक पक्षहरु
उच्च मूल्य : नयाँ घर सामान्यतया पुरानो घर भन्दा महँगो हुने गर्छ । महंगो जग्गा, निर्माण सामाग्रीको मूल्य नयाँ एवं आधुनिक सुविधाहरु हुने भएकाले पनि स्वभाविकरुपमा नयाँ घर महंगो हुन्छ । यस्तै नयाँ घरमा नयाँ आधुनिक प्रविधीको प्रयोग हुने भएकोले पनि पुरानो घरको तुलनामा नयाँ घरको लागत नै महंगो पर्न जान्छ ।
अपरिपक्व बगैंचा : कुनै पनि वनस्पतीलाई हुर्कन समय लाग्छ । अझ रुखहरु ठूलो हुन त बर्षौ लाग्छ । तपाईले ठूलो क्षेत्रफलमा बनेको नयाँ घर किन्न चाहनुभएको छ भने अवश्य पनि सुन्दर बगैंचा, ठूला हरिया रुखहरुको अपेक्षा राख्नुहुन्छ । तर नयाँ बनेको घरमा भर्खरै बोट बिरुवा, फूल रोपेको हुँदा त्यसलाई हुर्कन समय लाग्छ । सुन्दर बगैंचाको मनोरम दृश्य र रुखको शीतल छहारीमा बस्ने, ताजा हावाको स्वाद लिने तपाईको इच्छा नयाँ घरमा तत्कालको लागि पुरा हुँदैन ।
कम सुविधाजनक क्षेत्र : धेरै जसो नयाँ घरहरु विकासोन्मुख क्षेत्रमा वा भर्खरै आवास विकासको प्रारम्भ भएको ठाउँमा बनाइएका हुन्छन । यसको मतलव त्यहाँ छिमेकमा पहिलो वा नयाँ घर मालिकमध्ये एक तपाई पनि पर्नुहुन्छ । त्यस स्थानमा विकासका सम्पूर्ण पूर्वाधारहरु सम्पन्न हुन धेरै वर्ष लाग्न सक्छ । त्यस स्थानमा विकासका परियोजनाहरु सम्पन्न नहुँदा तपाई आधारभूत सेवा सुविधाको पहुँचबाट त वञ्चित हुनुहुन्छ नै, सँगै विकासको काम ठप्प हुँदा तपाईको घरको मूल्याङ्कन पनि कम हुँदै जान्छ । यस्ता स्थानमा बजार, यातायात, विद्यालय, अस्पताल जस्ता सेवाहरु पूर्णरुपमा सहजताका साथ संचालन नहुँदा तपाईले अनेकन समस्या भोग्नुपर्ने स्थिति आउन सक्छ ।
नयाँ घर र पुरानो घर बिच छनौट गर्दा घर खरिदकर्ताले धेरै कुरामा विचार पुर्याउनुपर्छ । नयाँ हुने भएकाले नयाँ घरमा स्वभाविकरुपमा धेरै फाइदाहरु छन तर, मूल्य र लोकेशनका कारण प्रशस्त बेफाइदा पनि छन । त्यस्तै पुरानो घर खरिद गर्दा कम मूल्य पर्न आउँछ तर त्यसमा आवश्यक मर्मत र अन्य परिमार्जन गर्नुपर्ने हुँदा अतिरिक्त रकम खर्च भइरहेको पनि हुन्छ ।
पुरानो घरहरु तात्न पनि बढि समय लाग्ने हुँदा चिसो समयमा समस्या भोग्नुपर्छ । उपकरणको प्रयोगले कोठा तताउँदा बढि समय लाग्ने हुँदा पुरानो घरमा बिजुलीको बढि खपत भइ उपयोगिताको बिल अधिक आउने गर्छ । यसरी नयाँ र पुरानो घर दुबैका आ–आफ्ना फाइदा तथा बेफाइदा रहेकाले गर्दा यी सबै कुरालाई मध्यनजर गरी तपाईका विशिष्ट आवश्यकताहरुको आधारमा निर्णय लिनु उचित हुन्छ ।



