
आइतबार सुनको मूल्य बढ्यो, तोलामा कति?
साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ ।
अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।
यो पनि,,,कोरोनाभाइरस : प्रदेश १ मा भारतीयसहित चार जनाको मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण गएको २४ घण्टामा प्रदेश १ मा एक भारतीयसहित चार जनाको मृत्यु भएको छ । धरान र विराटनगरका कोभिड विषेश अस्पतालमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
भारतीय नागरिकको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।
व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए ।
यता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताप्लेजुङका ५९ बर्षीय पुरुष मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले दीर्घरोगी समेत रहेका मृतकलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

