
प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर म धोका दिने मान्छे होइन: माधव नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भने, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’

एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए ।
तर नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताए ।
‘प्रधानमन्त्री पद दिएपछि माधव नेपालको मन विचलन हुने हो कि भन्ने पनि होला । त्यो सम्भावना छैन,’ उनले भने, ‘नेकपामा हुँदा पनि प्रचण्ड र हामीबीच फुट ल्याउन अनेक चाल खेल्नुभएको हो । उहाँको यस्तो खुवी भएको मान्छे हो ।’
सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भने, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’
विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले भने, ‘केपी ओलीलाई सत्ता भएपछि उहाँले अरु देख्नुहुन्न ।’
नेकपामा रहँदा पनि प्रधानमन्त्री पद त्याग्नुपरे कुर्सी भाचिदिन्छु भनेको प्रसँग निकाल्दै नेता नेपालले अहिले पनि त्यो ओलीमा त्यो प्रवृत्ति कायमै रहेको बताए । ‘
उति बेला पनि पद छोड्नुपरे कुर्सी भाचिदिन्छु भन्नुभएको थियो, अहिले शेरबहादुरजीले दावी गर्दा पनि कुर्सी भादिदिनुभयो । प्रतिनिधिसभा विघटन त्यसैको कारण हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘न रहे बाँस, न रहे बासुरी ।’
एमाले नेता नेपालले आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारे ।
अरनिको : स्वदेशमा ‘अपरिचित’, विदेशमा प्रसिद्धि !
नेपाल-चीनसम्बन्धका अनेक आयाम छन् । मञ्जुश्रीको समयदेखि हालसम्म दुई देशबीच क्षणिक तिक्तता युगीन मित्रता कायम रहेको पाइन्छ ।
पाँचौँ शताब्दीमा बुद्धभद्रको चीन यात्रा, त्यसपछि कहिले युआन चाङ त कहिले फाइयानको नेपाल यात्रा, राजा स्रङचङ गोम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह र कलाकार अरनिकोको शिल्पले नेपाल-चीन सम्बन्धलाई मजबुत बनाएको देखिन्छ ।
पाँचौं शताब्दीका फाइयान र सातौं शताब्दीका युएन चाङको यात्रा वृत्तान्तले नेपाली इतिहास पुष्टि गर्न धेरै मद्धत गरेको छ ।
सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गोम्पो र भृकुटीको विवाह भएको र नेपालका कलाकार अरनिकोको चीन यात्राको कुरा पनि चिनियाँ ऐतिहासिक स्रोतहरुले नै पुष्टि गरेका हुन् ।
सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’का अनुसार अरनिकोको प्रसंग नेपाली ऐतिहासिक स्रोतहरुमा उल्लेख छैन । चिनियाँ वृत्तान्तहरुमा भने यसको धेरै चर्चा पाइन्छ ।
अरनिकोको चीन यात्रा
अरनिको नेपालबाट पहिला तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्याति कमाएका नेपाली वास्तुकार हुन् । कलिलै उमेरमा तिब्बत पुगेका उनी पाटनका हुन् । उनका पिता लाखाँना र माता सुमाखची हुन् । चिनियाँ वृत्तान्तहरुमा अरनिकोको जन्म, बाल्यकाल र किशोरकालबारे योभन्दा बढी उल्लेख छैन ।
अरनिकोको जीवनी र कृतिबारे चीनको ‘युआन राजवंशको इतिहास, खण्ड २०३’ मा उल्लेख छ । उक्त चिनियाँ वृत्तान्त उद्धृत भिक्षु सुदर्शनको आलेख ‘राष्टि्रय विभूति अरनिकोको श्वेतचैत्य’ (आनन्दभूमि म्यागजिन, १ असोज २०४४)मा उल्लेख छ- अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा पाटनमा जन्मिएका थिए । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तुकलाकारको नेतृत्व गर्दै उनी तिब्बत पुगेका थिए ।
उक्त आलेख अनुसार युआन राजवंशको इतिहासमा अरनिकोको बारेमा एउटा रोचक प्रसंग छ । त्यहाँ भनिएको छ – ‘अरनिको निपोलो अर्थात् नेपाल देशका मानिस हुन् । त्यस देशका मानिसहरु उसलाई पालुपु भन्ने गर्दछन् । सानै उमेरदेखि उनको बुद्धि अरु बच्चाहरुको तुलनामा तेजिलो थियो । केही हुर्केपछि उनले बुद्ध धर्मको अध्ययन सुरु गरे । उनमा सुनेर कण्ठ गर्नसक्ने क्षमता थियो । उमेर बढेपछि चित्र र मूर्ति बनाउने काममा अरनिको निपूर्ण भए । उनले धातुको मूर्ति ढाल्ने काम पनि गर्न सक्थे । युआन राजवंशका सम्राट होपिलीले आफ्नो शासनको पहिलो वर्ष अर्थात् सम्राट कुब्लाई खाँको राज्याभिषेकको पहिलो वर्ष थुफान अर्थात् तिब्बतमा सुनको चैत्य बनाउन आदेश दिए । निपोलो देशबाट त्यो चैत्य बनाउन एक सय कालीगढ छान्ने काम भयो । परन्तु ८० जना मात्र जाने इच्छा भएका कालीगढहरु निस्किए । ८० जनाको नेतृत्व छान्ने व्यक्ति पाउन सकिएन । अरनिको १७ वर्षका थिए । उनले त्यसको नेतृत्व आफूले गर्ने बताए ।’
बौद्ध वास्तुकलामा अरनिकोको ख्याति
चीनको मियाउयिङ श महाविहारमा तीनवटा ठूलाठूला ढोका भएको सान् मन् प्रवेशद्वार, त्यसका दायाँ बायाँ कुलोर चुइलो नामका अग्ला भवनहरु तथा भिक्षु-भिक्षुणीहरुका लागि लाङ ऊ फैतेन् नामका ध्यान कुटीहरु छन् । मध्यकालमा बनेका यी भव्य बौद्ध संरचना नेपाली कलाकार अरनिकोले निर्माण गरेको चिनियाँ प्राध्यापक वाङ होङ वैको एउटा शोधमा उल्लेख छ ।
जोशीको पुस्तक ‘कलाकार अरनिको’का अनुसार अरनिकोले आफ्नो जीवन कालभर तिब्बत र चीनमा तीन चैत्य, नौ महाविहार, दुई मन्दिर र तावो मतको एउटा राजप्रासाद निर्माण गरेका थिए ।
चिनियाँ विद्वान हाइ लानले चाहिँ अरनिकोलाई चिनियाँ कलाकार भनेका छन् । उनले अरनिकोले शान्सी प्रान्तमा अर्काे झन् ठूलो चैत्य बनाएको उल्लेख गरेका छन् । सन् १९८० अगष्ट १० को ‘द राइजिङ नेपाल’मा प्रकाशित लेखमा लानले अरनिकोको कलाको प्रशंसा गर्दै शान्सी प्रान्तको चैत्यबारे उल्लेख गरेका छन् ।
लानका अनुसार उक्त श्वेतचैत्य यन्त्राकार त्रिकोणहरु भएको मण्डपमा बनेको छ । यसको जगबाट उठेको संरचना तीन खण्डमा विभाजित छ । दोस्रो र तेस्रो खण्डमा कमलको आकृतिहरु छन् । यसको आधार भूमिको परिधि ३० र यसको उचाइ चाहिँ ५०.९ मिटरको छ ।
कुब्लाई खाँ र अरनिको
सम्राट बन्नासाथ कुब्लाई खाँले एउटा भव्य स्वर्ण चैत्य बनाउने मनसुवा गरे, तर त्यतिबेला तिब्बतमा चैत्य वास्तुकारको अभाव थियो । चैत्य बनाउन जान्ने वास्तुकारको लागि नेपाल या भारत जानुको विकल्प थिएन । नेपालका वास्तुकार अब्बल ठहरिएको र नजिक पनि भएकोले खाँले नेपालीहरु बोलाउने निधो गरे ।
पाँचौं शताब्दीको सुरुमा कपिलवस्तुमा जन्मिएका भिक्षु बुद्धभद्रको पालादेखि नै तिब्बती र चिनियाँहरु नेपाली कलाबाट प्रभावित भइसकेका थिए । सातौं शताब्दीका युआन चाङले पनि नेपाल यात्रा गरेर निपोलो (नेपाल)का मानिसहरु कलामा सिद्धहस्त भएको, दुई हजार थेरबाद र महायानी भिक्षुहरु नेपालमा अध्ययनरत रहेको उल्लेख गरिसकेका थिए ।
अंशुवर्माको समयको पुस्तक ‘शब्दविद्या’ बाट समेत नेपालसँग चीन परिचित रहेको कुरा भिक्षु सुदर्शनले उल्लेख गरेका छन् ।
११ औं शताब्दीमा भिक्षु चिन्व्हेको नेतृत्वमा तीन सय बौद्ध भिक्षु नेपाल आएका थिए । त्यो बेला तान्त्रिक र बौद्ध शिक्षाको लागि नेपाल मुख्य गन्तव्य थियो ।
त्यतिबेला पाटनका महापण्डित महाबोधी, जगदानन्द आदिले थुप्रै तिब्बतीलाई शिष्य बनाएका थिए । यी सब कारणले नेपालबाट कलाकार लैजाने निधो कुब्लाई खाँले गरेको इतिहासकारहरुको मत छ ।
त्यसबेला नेपालबाट सयजना कलाकार लैजाने निधो भएको थियो, तर केवल ८० जना तिब्बत यात्राका लागि तयार भए, जसको नेतृत्व अरनिकोले गरे । त्यतिबेला नेपाल मण्डलमा जय भीमदेव मल्लको शासन थियो ।

कुब्लाई खाँको आदेशानुसार तिब्बतमा साढे २ वर्षमा स्वर्ण चैत्य निर्माण भयो । त्यो काम सकेर टोली नेपाल फर्किने तयारीमा लाग्यो । टोली नेता अरनिकोलाई भने सम्राटका गुरु वागसपाकाले पेकिङ लैजाने इच्छा जाहेर गरे ।
त्यसरी चीनको राजधानी पुगेका अरनिको युआन वंशका सम्राटको आदेशमा श्वेत चैत्य निर्माणमा जुटे, जसलाई नेपाली शैली मिश्रति अदि्वतीय वास्तुकला मानियो ।
यो चैत्य बनाउन ८ वर्ष लागेको चिनियाँ वृत्तान्तमा उल्लेख छ । यो सन् १२७१ कुरा हो । बेइजिङको मध्यभागमा रहेको श्वेत (सेतो) चैत्यलाई चिनियाँहरु पाइ था (श्वेत चैत्य) भन्छन् ।
भनिन्छ, तिब्बतमा सुवर्ण चैत्य निर्माणको अनुभव हासिल गरेका अरनिकोलाई पेकिङका सम्राटले पहिला एउटा मूर्तिमा टुटेको हात जोड्न लगाएका थिए ।
त्यसमा उनले तत्कालै खुवी प्रदर्शन गरेपछि सम्राटले अर्काे उस्तै मूर्ति बनाउन भने । अरनिकोले यस्तो सजीव मानव मूर्ति बनाए कि, जसमा जोर्नी र नशाहरु समेत स्पष्ट देखिन्थे । त्यसपछि सम्राटले उनलाई श्वेतचैत्य निर्माणको बृहत् परियोजना जिम्मा लगाए ।
अरनिकोले चिनियाँ शैली-परम्परा तथा नेपाली शैली-परम्पराको समिश्रणमा श्वेत चैत्यको ढाँचा तयार पारे । दुई देशको वास्तुकला आत्मसात् गरेको त्यही नक्साको आधारमा विशाल श्वेतचैत्य तयार भयो र तत्कालै चीन, तिब्बत र नेपालमा समेत चर्चित भयो ।
श्वेत चैत्यको वास्तुकला
श्वेत चैत्यको सबभन्दामाथि महामुकुट जडान गरिएको छ । महामुकुट मुनि गजुर छ । गजुर मुनिको भाग धर्मछत्र वरिपरि घण्टमाला झुण्ड्याइएको हुन्छ । घण्टमालाभन्दा तल्लो भागमा १३ खण्ड बनाइएको छ, जसलाई त्रयोदश भुवनको प्रतीक मानिन्छ ।
बौद्ध मतानुसार त्रयोदश भुवनमा ज्ञानवती, निरुपमा, समन्तप्रभा, धर्ममेध, साधुमती, अचला, दुरंगमा, अभिमुखी, सुदूर्जया, अध्धिष्मती, प्रभाकारी, विमला र प्रमुदिता पर्छन् ।
त्रयोदश भुवनभन्दा तल्लो भागमा चकू र त्यसमुनि गर्भगृह छ । त्योभन्दा तल गोलचक्र र त्योभन्दा तल पद्मासनमा बसेका बुद्धहरुको प्रतिमा छन् । त्यसभन्दा तल माथिल्लो बेदिका छ । त्यसभन्दा तल मृगदाव, धर्मचक्र छ भने जमिनभन्दा मुनि तल्लो वेदिका र पादस्थापना राखिएको छ ।



