फेरि सभापतिमा लड्छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका  हुन् ।

देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ ।

हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए । ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नुभयो,’ ती नेताले भने ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।

सभापतिमा देउवालाई निधिको चुनौती

आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् ।

आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।

देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरे ।

उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताए । आफूले यसअघि पनि भनेको स्मरण गराउँदै उनले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु ।’

लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।

निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए ।

देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेको उनको सचिवालय स्रोतले बताएको छ ।

कांग्रेसले शुक्रबार मात्र १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अन्तिम रुप दिएको छ, जसअनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button