लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थलमा चहलपहल

राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ। 

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख रहेका छन् ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । 

चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । 

आठ कैदीबन्दीको कैद मिनाहा

गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ ।

अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । 

कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार (जीवजन्तुको हाड छालासम्बन्धी) रहेका छन् । 

कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदीबन्दीले कैद मिनाहा पाएको बताए ।

बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्यास नगरपालिकाका करन परियार र शुक्लागण्डकी नगरपालिकाका रमेशबहादुर मल्ल ठकुरी रहेका छन् । 

त्यसैगरी ज्यान मार्ने उद्योगका घिरिङ गाउँपालिका सन्तबहादुर श्रेष्ठ, सवारी ज्यान मुद्दाका बन्दीपुरका दिनेश मक्राती र ओखेटो पहार मुद्दामा म्याग्दे गाउँपालिकाका इन्द्रध्वज कार्की रहेको कारागारका जेलर ऋषिराम सुवेदीले बताए। 

उनका अनुसार  हाल कारागारमा थुनुवा १०६ र कैदी १६२ गरी कूल २६८ कैदीबन्दी छन् । गण्डकी प्रदेशबाट समेत गरी ८० कैदीबन्दीको कैद मिनाहा भएको उनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button