
जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षाको लागि निषेधाज्ञा थप कडा पारिएको बताउँदै केही समय सतर्कता अपनाउन आग्रह गरेका छन्।

दमक क्याम्पसम बन्ने नयाँ भवनको शुक्रबार शिलान्यासपछि भर्चुअल सम्बोधनमा बोल्दै ओलीले केही समयका लागि भएको अफ्टेरोलाई सबैले बुझ्नु हुने विश्वास व्यक्त गरे। ‘आकंकित हैन, सतर्कता हुने हो,’ प्रधानमन्त्रीले भने, ‘केही समयको लागि जनताको जीवन रक्षाको लागि यस्तो निर्णय लिनु आवश्यक थियो ।’

शिलन्यास कार्यक्रममा संवोधन गर्दे ओलीले सरकाले लोकप्रियताका लागि नभएर मुलुकको समृद्धीको लागि विकाश निर्माणको आयोजना अगाडी बढाउने बताए । ‘चुनाव भन्दैमा विकाशका काम ठप्पै पार्नु पर्ने छ भन्ने छैन,’ उनले भने, ‘ समृद्ध नेपाल र सुखी नेपालीको अभियानको लागि भइरहेका र नयाँ निर्माण आवश्यक छ।’
त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टीले इमान्दार नेता गुमायोः
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले आज शोक वक्तव्य जारी गरी उनीहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र इमान्दार नेता गुमाएको बताएका छन्।
एमालेका अध्यक्ष ओलीले जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाएको छ।
न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो।
यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताएका छन्। एमालेका केन्द्रीय सदस्य उनको केही दिनअघि निधन भएको थियो।
महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौं
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले नागरिकको जीवन बचाउनका लागि सरकार निरन्तर प्रयासरत रहेको बताए। ‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो।’
उनले नागरिककै जीवन रक्षाका लागि ३००/४०० रुपैयाँ पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए।
आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारे।
सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।



