
जस्तोसुकै कारबाही भोग्न तयार छौं भन्दै माधव नेपाल पक्षले गर्यो यस्तो कठोर निर्णय :अब के गर्लान् ओली ?
विवादित रहेको नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अब पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने निर्णय गरेको छ ।

एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । कारवाहीको प्रकृयाका लागि सोधिएको स्पष्टिकरणको जवाफ नदिने निर्णयमा माधव समुह पुगेको छ ।

नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको स्पष्टीकरण प्राप्त भएको भए पनि जवाफ नदिने निर्णमा पुगेको बताएका छन् । सांसद मेटमणी चौधरी, कल्णणी खड्का लगायतका सांसदहरुले स्पष्टिकरणको पत्र आफुहरुले पाएको भएपनि स्पष्टिकरण नदिने निर्णयमा पुगेको बताएका छन् ।
स्पष्टीकरणमा पार्टी अनुशासन उल्लघंन गरेर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको ? त्यसवापत कारबाही किन नगर्ने ? भनेर सोधिएको थियो । उनले आफुहरु प्रति पुर्वाग्रह राखेर स्पष्टिकरण सोधिएकाले त्यसको जवाफ दिन जरुरी नठानेको सांसदहरुले बताएका छन् । आफुहरु ओलीसंग आत्मसमर्पण गर्न नजाने निष्कर्षमा पुगेको उनको भनाई छ ।
खड्काले स्पष्टीकरणको जवाफ नदिएवापत जस्तोसुकै कारबाही भोग्न आफूहरू तयार रहेको पनि बताएकी छन् । ‘उहाँहरूलाई जे मन लाग्छ, त्यही गर्नुहुन्छ, गरे हुन्छ । कारवाहीको केही अर्थ छैन् । सांसद छैनौं, उहिल्यै केन्द्रीय सदस्यबाट हाम्रो जिम्मेवारी खोसिसक्या छ ।’
संविधानको धारा ७५ (५) अनुसार प्रधानमन्त्री दावी गर्दा नेपाल पक्षका धेरै सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षामा हस्ताक्षर गरे पछि एमाले विवाद झन उत्कर्षमा पुगेको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए । आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हाल्न लागेका हुन्।
‘जालसाजी गरे। हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरू छन् नि उनीहरूलाई पनि मनोवैज्ञानिक सन्देश दिन हामी सशरिर अदालत जान लागेका हौं,’ एमाले सांसद विरोध खतिवडाले भने,‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’
अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्।



