निर्वाचन आयोगबाट फर्केर नेपालले भने–आयोगले हामीलाई नै आधिकारिकता दिन्छ
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने दावी गरेका छन् । ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।
निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए । नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।
आयोगबाट फर्किएलगत्तै बृहत् नागरिक भेलामा सहभागी भएका उनले आयोगबाट आफूहरुलाई सकारात्मक जबाफ आएको बताएका हुन् ।
यस्तै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरे । नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए ।
विगतको प्रसंग कोट्याउँदै उनले भने, ‘पार्टीमा ओलीले गणतन्त्रको विरोध गर्नुभएको थियो । गणतन्त्रलाई कोरा कल्पना भन्नुहुन्थ्यो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट उहाँ विचलित हुनुभएको छ ।’
उनले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको पनि आरोप लगाए ।