स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ।  

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको जानकारी दिएको उनकाका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। 

राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो। 

उपप्रधानमन्त्रीसँगको टेलिफोन संवादमा स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइपुग्ने स्विस राजदूतले जानकारी दिइन्। चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ।   रासस

यो पनि,,,,,भेण्टिलेटर छ, जनशक्ति छैन्

सप्तरीको राजविराज–८ का ४६ वर्षीय शिक्षकलाई सामान्य ज्वरो आएपछि चिकित्सकको परामर्शमा औषधि खाए । दोस्रो दिन ज्वरो झनै बढ्यो । तेस्रो दिन अस्पताल भर्ना भए । 

गजेन्द्रनारायण सिंह राजविराजको आकस्मिक कक्षमा वेटिङ्ग बेडमा उपचाररत उनको अक्सिजनको मात्रा घटेर ८५ पुग्यो । रेखदेखमा रहेका साथी रामअशिष यादवका अनुसार शुक्रबार अपरान्ह साढे पाँच बजे चिकित्सकले रेफर गर्‍यो ।

घरमा वृद्ध सासूआमा र नाबालक छोरा–छोरीको स्याहारमा रहेकी श्रीमतीले आफन्त, साथीहरुको सहयोग मागिन् ।

माइतीमा सँगै पढेका साथी निरज झाको सहयोगमा अस्पताल पुगिन् । अक्सिमिटर लगाइ हेर्दा अक्सिजनको मात्रा ५५ पुगेको थियो । बिरामीको जटिल अवस्था थाहा पाएको छिन्नमस्ता अस्पतालले पनि भेण्टिलेटर नभएकाले तत्कालै विराटनगर लैजान सुझायो ।

राति साढे ११ बजे अक्सिजनको मात्रा ३९ पुग्यो । उतिबेला पनि उनी आत्मविश्वासका साथ ‘मलाई केही हुँदैन’ भनेर श्रीमतिलाई सान्तवना दिँदै थिए । 

संक्रमित छटपटाउन थाले । ‘एम्बुलेन्स पाउन गाह्रो, एम्बुलेन्स पाए अक्सिजन पाउन गाह्रो, अर्कोतिर भेण्टिलेटर भएको अस्पताल खोज्न झनै समस्या,’ निरजले भने, ‘सबै गर्दागर्दै विहानपख ४ बजे बिराटनगर पुर्‍याइयो तर बिराट नर्सिङ्ग होमले ७ बजे मात्र खाली हुन्छ भनेपछि नोबेल शिक्षण अस्पताल लगियो ।’

उनको फोक्सोले श्वास लिने गति कम भयो । हाइफ्लो अक्सिजन दिंदा पनि अक्सिजनको मात्रा स्वात्तै घटेर १५ मा पुग्यो । बिहान सात बज्ला र भेण्टिलेटर खाली होला भनेर प्रतिक्षा गर्दागर्दै एक घण्टा अगाडि शिक्षकको मृत्यु भयो ।

सोही दिन बिराटनगरमा उपचाररत अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ का ४० वर्षीय युवकको पनि सोही अस्पतालमा मृत्यु भयो । 

अर्को दिन सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ३२ वर्षीय, वडा नम्बर ९ का ६५ वर्षीय, सप्तकोशी नगरपालिका–५ का ६० वर्षीय तथा राजविराज–६ का ३१ वर्षीय पुरुष गरी चार जनाको मृत्यु भयो ।

सप्तकोशी–५ का पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय खगेन्द्र कार्कीले बताए । 

यसैगरी सोमबार बिष्णुपुर गाउँपालिका, कञ्चनरुप नगरपालिका र सुरुङ्गा नगरपालिका–२/२ जनाको मृत्यु भयो । मङ्गलबार बिहान सप्तकोशी नगरपालिका उपप्रमुख ३७ वर्षीया महिलाको मृत्यु भयो ।

चिकित्सकहरुका अनुसार ‘डबल म्युटेन्ट भेरिएन्ट’ले गर्दा दोस्रो लहरमा सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी देखिएको छ । पहिलेको तुलनामा सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी र धेरै संक्रमितहरुमा लक्षण देखिएकाले मृत्युको सङ्ख्या बढेको डा. रणजितकुमार झाले बताए ।

यता कोभिड–१९ लाई लक्षित गर्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जडान गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन नपाइ कनै बन्द छ ।

भेण्टिलेटर जडान त भयो तर जनशक्ति छैन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले बताए ।

अस्पतालमा ४ वटा भेन्टिलेटरसहित २५ बेडको एचडीयू व्यवस्थापनसहितको आइसोलेसन गत वैशाख १९ गतेदेखि सञ्चालनमा छ । अहिले ती सबै बेडमा कोरोना संक्रमित उपचाररत छन् ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा १५ जना उपचाररत छन् । सबै संक्रमितलाई अक्सिजन लगाइएको छ । चिकित्सकका अनुसार कुनै बेला पनि उनीहरुलाई भेण्टिलेटरको आवश्यक्ता पर्न सक्छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै नौ सयको करिब पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । भेण्टिलेटरका लागि एनेस्थेसियोलोजिष्ट विशेषज्ञसहित २ चिकित्सक, १ अहेव र १० नर्स संक्रमित हुँदा सञ्चालन गर्न नसकिएको र उपचारमा समस्या हुने गरेको झाले बताए ।

भेन्टिलेटर भएपनि सञ्चालन नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई विराटनगर र धरान पठाउनु पर्ने वाध्यता छ । बाहिरको अस्पताल र बेड खोज्दा ढिलाइ हुने गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले थन्केर रहेको भेण्टिलेटर सञ्चालनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग दक्ष जनशक्ति माग गरिरहेको छ । 

भेन्टिलेटर र सघन उपचार कक्ष चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ । जुन देशभर कमै मात्रामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जनशक्ति व्यवस्थापन नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको स्थानीय नबिनकुमार झाको दुखेसो छ ।

यो पनि,,,,,,,,,,जसपाभित्र ‘सरप्राइज एकता’ : महन्थ र उपेन्द्रले संयुक्त वक्तव्य निकाले

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि अचम्मको मेलमिलाप देखिएको छ।

अलग अलग बैठक र अलगअलग वक्तव्य निकाल्दै आएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गरेका छन्। जसपाको यो ‘सरप्राइज एकता’ लाई अर्थपूर्ण रुपमा लिइएको छ। यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ।

ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गरेर जसपा सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्।‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवम अड्कलबाजी भइरहेका छन्।

तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जसपा सरकारमा सहभागी नभइ प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत छ,’ विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

वैकल्पिक  सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको थियो। उपेन्द्र यादव र बाबुराम भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका थिए भने महन्थ ठाकुर र राजेन्द्र महतोले भने अप्रत्यक्ष रुपमा सरकारलाई सघाएका थिए।

गत वैशाख २७ गते संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो। उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहेका थिए।

प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर उपेन्द्रले वैकल्पिक सरकार गठनको लागि प्रकिया थाल्‍न राष्ट्रपतिलाई आग्रह गर्दै संयुक्त वक्तव्य निकालेका थिए।

अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउ उपेन्द्रको सक्रियता पार्टी निर्णय र लाइन विपरीत भन्दै अलग्गै विज्ञप्ती निकालेका छन्। राष्ट्रपतिलाई समेत उपेन्द्रको पत्राचार वा निर्णय वैधानिक नभएको भन्दै लेखी पठाएका थिए।

महन्थ ठाकूर पक्ष वैकल्पिक सरकारका लागि तयार नभएपछि संविधानको धारा ७६ (३)अनुसार केपी ओली नै ठूलो दलको नेताको हैसियतले पुन: प्रधानमन्‍त्री नियुक्त भएका थिए। 

त्रिशंकु संसद्को अंकगणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ। उसले समर्थन गर्‍यो भने ओली सरकार सुरक्षित हुनेछ भने जसपाको साथ भयो भने विपक्षीहरूले वैकल्पिक सरकार गठन गर्ने अवस्था छ। जसपा तटस्थ बस्यो भने मुलुक फेरि निर्वाचनतर्फ जाने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button