खै कहाँ छ संकट? म त कहीँ संकट देख्दिनँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा कुनै संकट नरहेको दावी गरेका छन् ।
राजधानीमा मंगलबार रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।
मुलुक र जनतालाई अहिले कुनै पनि संकट नरहेको बताउँदै उनले भने, ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ । खै कहाँ छ संकट? जनतालाई संकट छ कि किसानलाई संकट छ कि ? तर म त कहीँ संकट देख्दिनँ ।’
प्रधानमन्त्री ओलीले पात्रहरुलाई निजी संकट हुनसक्ने बताउँदै भने, ‘देउवा, प्रचण्ड र माधवजीहरुलाई संकट परेको होला । तर देशलाई र संविधानलाई संकट छैन ।
फागुन २३ मा सर्वोच्च अदालतको फैसला आउनुअघि नै नेकपाको एकता भंग भइसकेको उनले दावी गरेका छन् ।
सर्वोच्चले पार्टी फेरि एकता गर्न १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भनेको तर प्रचण्डले चासो नदिएको उनको आरोप थियो । साथै अदालतको फैसलापछि छलफल गरौं भन्दा प्रचण्डले नै इच्छा नदेखाएको ओलीले बताए ।
ओलीले निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताए। ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गरे। प्रधानमन्त्री ओलीले भने, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ । त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?”