अर्थमन्त्रीको कार्यक्रम बिथोलिएको घटनाले रुपन्देहीका सीडीओ र एसपीको सरुवा

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ ।

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ ।

रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

स्रोतका अनुसार गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट बोल्न नपाई कार्यक्रम छाडेर हिंड्नु पनि  परेको घटनालाई लिएर प्रजिअसहित सुरक्षा प्रमुखहरुको सरुवा गरिएको हो ।

उक्त शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भत्काइदिएका थिए ।

स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुंगामुढा गरेर प्रतिकार गरेका थिए ।

दोेहोरो ढुंगा हानाहान हुँदा प्रहरीले संयमता अपनाउँदा त्यस दिन अपि्रय घटना हुन पाएको थिएन । ‘स्थानीयको चर्को विरोध हुँदाहुँदै हतार-हतारमा जबरजस्ती शिलान्यास गरेका अर्थमन्त्री पौडेलको जोडबलमा सीडीओ र सुरक्षा प्रमुखहरुलाई सरुवा गरिएको हो,’ स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button