निर्णय फिर्ता लिन नेपाल समूहको माग : कुनै निर्णय फिर्ता नहुने ओलीको जवाफ
नेकपा (एमाले) संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता लिन नसकिने जवाफ दिएका छन् ।
बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसदहरु घनश्याम भुसाल, योगेश, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने भन्दै ओलीले कुनै पनि निर्णयबाट पछाडि नहट्नबताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
‘केही साथी अनुपस्थित भए पनि सबै बैठक विधिसम्वत् भएका छन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’