
सबै दल मिलेर ओली नेतृत्वको सरकारलाई हटाउनु पर्छ : कृष्णप्रसाद सिटौला
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

उनले सबै दल मिलेर अहिलेको ओली नेतृत्वको सरकारलाई हटाउनुपर्ने भएकाले गर्दा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन देउवालाई सुल्झाए ।

‘सभापतिलाई केन्द्रिय समितिको बैठकमा स्पष्ट रुपमा तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्न सुझाव दिइसकिएको छ,’ नेता सिटौलाले बुधबार सुनसरीको इनरुवामा अगुवा कार्यकर्ता भेलामा भने ।
ओलीको पार्टी बाहेक सबै पार्टीलाई समेटेर सरकार गठन गर्नका लागि पार्टी सभापति देउवालाई उनले सुल्झाए ।
‘अहिले केपी ओलीको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिएको र अहिलेको अवस्थामा सरकारले निर्वाचन गराउँदा पनि निष्पक्ष, स्वतन्त्र र धाधलीरहित हुनेमा आशंका रहेकाले त्यसको नेतृत्व कांग्रेसले नै लिनुपर्छ,’ उनले भने ।
उनले ओली नेतृत्व सरकारले निर्वाचन गराएमा बुथ कब्जा गर्ने खतरा रहेको आरोप लगाए ।
नेता सिटौलाले अहिलेको सरकारले किसानको नाममा ठूलाठूला भाषण गरेपनि उनीहरूको समस्या प्रति उदासिन रहेको बताए । ‘किसानका लागि मल, सिचाई, बिउँबिजनको समस्या रहेपनि समस्या समाधानका लागि अहिलेको सरकारले अलिकति समेत ध्यान दिएको छैन,’ उनले भने ।