जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भयो : प्रचण्ड
काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव समूहका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए ।
‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०/१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’
प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’
अहिले जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उनले भने ।