पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित सहभागिता हुनुपर्छ : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन्।

‘शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो। हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो’, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा काँग्रेस विश्वास राख्ने बताउँदै उनले आफ्नो पार्टीको विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरेको जानकारी दिए ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरूले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै देउवाले उनीहरूप्रति उच्च सम्मान प्रकट गरे ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवर्द्धनका लागि पनि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने सभापति देउवाले विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button