चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलाई रात्रिभोज दिएर कांग्रेसले सुनायो तीन विषय

चार दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओलाई सत्तारूढ नेपाली कांग्रेसले रात्रिभोजमा बोलाएर तीन विषय राखेको छ।

आइतबार बेलुकी विदेश विभाग प्रमुख लिउलाई होटल मेरियटमा रात्रिभोज दिँदा कांग्रेसका उपसभापति, महामन्त्रीलगायत केही केन्द्रीय सदस्यहरू सहभागी थिए।

रात्रिभोजको संयोजक भने कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्र मन्त्री नारायण खड्काले गरेका थिए।

महामन्त्री गगन थापाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलाई कांग्रेसले रात्रिभोजमा विभिन्न विषयमा कुरा राखेको थियो।

नेपालको भू-भाग मित्रराष्ट चीनविरूद्ध प्रयोग गर्न नदिने विषय पहिलो थियो।

यस्तै विकास सहायता जुनसुकै देशको पनि लिने विषयमा कांग्रेसले विदेश विभाग प्रमुख लिउसँग कुरा राखेको थियो।

‘हामीले एमसिसी लियौं, बिआरआई पनि लिन्छौं। विकास सहायताहरू लिने हो। तर कुनै पनि सैन्य गठबन्धमा सहभागी हुँदैनौं भनेर प्रष्ट भनेका छौं,’ महामन्त्री थापाले भने, ‘हामी कुनै पनि देशको सैन्य गठबन्धनमा बस्दैनौं, हामी विश्व शान्ति चाहन्छौं भनेका छौं।’

कांग्रेसका यी धारणा पार्टी सत्तापक्ष वा प्रतिपक्ष हुँदा पनि एकै रहनेबारे उनलाई जानकारी गराइएको थापाले बताए।

‘सडक र सदनमा हुँदा हाम्रो धारणा बदलिँदैन,’ उनले भने।

साथै कांग्रेसले सिपिसीका विदेश विभाग प्रमुखलाई नेपालका कांग्रेस र कम्युनिष्टलाई हेर्ने धारणा फरक हुन नहुनेमा ध्यानाकर्षण पनि गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button