
गगन प्रधानमन्त्री हुने भए मेरो समर्थन हुन्छ: विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चुनावपछि गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्ने हो भने आफ्नो समर्थन रहने बताएका छन्।

करिब एक सातादेखि शर्मा अमेरिकामा छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाले नर्दन क्यालिफोर्नियामा गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले थापाले प्रधानमन्त्री दाबी गरे ५० वर्ष उमेरमुनिकै हुने र आफूले समर्थन गर्ने बताए।

बिपी कोइराला र शेरबहादुर देउवा पनि ५० वर्षको उमेरकै हाराहारीमा प्रधानमन्त्री भएको बताउँदै शर्माले प्रधानमन्त्रीमा अब थापाले दाबी गर्ने भए आफूले समर्थन गर्ने बताएका हुन्।
‘कांग्रेसबाट बिपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन,’ शनिबार अमेरिकामा भएको कार्यक्रममा शर्माले भने, ‘गगन थापा ५० वर्षमुनिकै हो। प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ।’



