माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं :

सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए।

घिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो। घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे । सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।

चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो। चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो।

घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए। घिसिङले आफ्नो कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा भएन। निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएको छैन।

रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाजुहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे।

अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे। पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्।

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए। पछि कुलमान आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button