
के भारतले देउवालाई नपत्याएको हो ? किन भएन अहिले सम्म हुँदै आएको काम
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्किएका छन्। तर देउवाको भारत भ्रमणका क्रममा अहिले सम्म हुँदै आएको एउटा काम भने भएन । के भारतले प्रधानमन्त्री देउवालाई नपत्याएको हो ? विगतमा जस्तो यसपटक नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा संयुक्त वक्तव्य जारी नभएपछि यस्तै प्रश्न उब्जिएको हो ।

नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्षरराष्ट्रपतिका भारत भ्रमणका अवसरमा अक्सर ‘जोइन्ट कम्युनिके’ अर्थात् संयुक्त वक्तव्य जारी हुने गर्थे। संयुक्त वक्तव्यमा दुई देशका शीर्ष तहमा भएका छलफल र सहमतिलाई लिपिबद्ध गरिएको हुन्थ्यो। तर देउवाको भारत भ्रमणका क्रममा यस्तो कुनै वक्तब्य जारी भएन । भ्रमण सकिएपछि वा उच्चस्तरीय भेटवार्ता लगत्तै संयुक्त वक्तव्यलाई दुवै देशका विदेश मन्त्रालयले एकैचोटी जारी गर्ने कुटनीतिक चलन थियो।

उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदा संयुक्त वक्तव्य जारी गर्ने अन्र्तराष्ट्रिय कुटनीतिक परम्परा नै हो। नेपाल र भारतले पनि त्यो परम्परालाई विशेष परिस्थितिमाबाहेक निरन्तरता दिँदै आएका थिए। तर, देउवाको भारत भ्रमणमा संयुक्त वक्तव्य आएन। भ्रमणका क्रममा हिजो शनिबार नेपाल र भारतका विदेश मन्त्रालयले आफ्नै हिसाबले वक्तव्य जारी गरेका छन्।
प्रधानमन्त्री देउवाको भ्रमणमा संयुक्त वक्तव्य नआएकोबारे परराष्ट्र मन्त्री डा। नारायण खड्काले ‘दुवै पक्षले आ–आफूले विज्ञप्ति जारी गर्ने समझदारी भएअनुसार संयुक्त वक्तव्य नआएको बताए ।
प्रधानमन्त्री देउवाले दिएको वक्तब्यमा सिमा समाधानका लागि आफुले कुरा गरेको र त्यसवारे सहमति पनि भएको उल्लेख गरेका थिए । तर भारतीय प्रधानमन्त्री मोदीले त्यसवारे एक शब्द पनि बोलेनन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको बक्तब्यमा पनि त्यसवारे केही कुरा उल्लेख गरिएन । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा स्थापित संयन्त्रमार्फत सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको बताइए पनि भारतका तर्फवाट त्यसवारे कुनै कुरा उल्लेख नहुनुलाई पनि चासोका रुपमा हेरिएको छ ।



