
एमसीसी विरुद्ध आज काठमाडौमा आन्दोलन, कहाँ कहाँ हुँदैछ विरोध सभा र र्याली ?
काठमाडौ । सरकारले संसदवाट एमसीसी अनुमोदन गरिसक्यो । अमेरिकाले पनि एमसीसी अनुमोदन गरेकोमा नेपाललाई धन्यवाद दिएको छ । तर केही राजनीतिक दलहरु भने एमसीसी विरुद्ध अझै आन्दोलनमा छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीको खुलामञ्चमा जनसभाको आयोजना गर्दैछन्।

गत आइतबार संसदबाट एमसिसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरूले आज माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्याली निकालेर खुलामञ्चमा जनसभा गर्न लागेका हुन् ।

बिहान ११ बजे र्याली सुरु हुने र १२ बजे सभा हुने जनाइएको छ । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसिसी सम्झौताविरुद्ध छन् ।
यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ । २६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।



