तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड – नेपाल समूह
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड- नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि यो समूहले गत माघ २८ गते राजधानीमा वृहत विरोध प्रदर्शन गरेको थियो।
अहिलेसम्मको आन्दोलनको समीक्षा र आगामी रणनीति तय गर्न संघर्ष समितिको बैठक बस्न लागेको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध अबको आन्दोलन निर्णायक हुनेगरी रणनीति तय गरिने नेताहरुले बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।
एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।
दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।
पछिल्ला दिनमा दुवै समूहमा शक्ति प्रदर्शनमा होडबाजी चलेको छ।
प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ। आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।