
नेपाली कांग्रेस संगगठनका महामन्त्री नै वडामा पराजित भएपछि…
काठमाडौ । नेपाली काँग्रेसको महाधिवेशनका लागि अहिले प्रतिनिधि छनौटको लागि निर्वाचन भइरहेको छ । कतिपय प्रभावशाली नेताहरु नै आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएर प्रतिनिधि हुन पाएका छैनन् । जसका कारण आगामी राजनीतिक नेतृत्वमा नै पूर्णविराम लागेको छ । कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित भए पछि प्रतिनिधि हुन पाएनन् ।

प्रतिनिधिका लागि मंगलवार भएको निर्वाचनमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा ( ३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गरेका थिए । उनलाई पराजित गर्नेले उनले भन्दा १७ मत बढी पाएका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाटै पराजित भएपछि केन्द्रीय नेतृत्वमा आउने वाटो नै बन्द भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित भएको हुन् ।

यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल पनि पराजित भइन् । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् । यस्तै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् ।




