प्रचण्डको शिलान्यासमा बनेको पुल ओलीले उद्घाटन गर्ने

१२ माघ, काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन् ।

पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो ।
झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button