
माधव नेपाल पक्षलाई देउवा सरकारले यस्तो दियो पहिलो उपहार
काठमाडौं । आफुलाई प्रधानमन्त्री बन्न सहयोग गरेका माधव नेपाल पक्षलाई शेरवहादुर देउवाले गुन लगाउने भएका छन् ।

सरकारमा सहभागी हुन आग्रह गर्दै आएका देउवाले तत्कालका लागि माधव पक्षका एक नेतालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने भएका छन् ।

सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर सरकारले शर्मालाई प्रदेश प्रमुख सिफारिस गरेको हो । सरकारले यस अघि ओली सरकारले गरेका निर्णय उल्ट्याउँदै जान थालेको छ । शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।
बिहीबार नै माधव नेपाल र देउवाबीच भेटवार्ता भएको थियो । नयाँ दल दर्ता गरेपछि नेपाल देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग परामर्शमा छन् ।
०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा स्वकीय सचिव बनेका थिए । यसअघि लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्रलाई सरकारले नियुक्त गरिसकेको छ ।
अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश १ , सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख मात्र हटाउन बाँकी छ ।
अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी
पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।
गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ ।
अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा विसं २०७७ चैत २७ मा पक्राउ गरी छ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिप्रका प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिनुभयो । “हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन”, उहाँले भन्नुभयो, “जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्ने गरी खोजी भइरहेको छ ।”
यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको जनाउँदै विसं २०६८ मा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताउनुभयो ।
विसं २०६८ कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु १० लाख १७ हजार ९५ रहेको पनि मल्लको भनाइ छ ।
“किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्शन प्रालि भन्ने रहेको छ ।
बा२ख ३२८४ नंको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो”, उहाँले भन्नुभयो, “उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ । बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यसबारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।”
नेपाली कांग्रेसको कोषाध्यक्षसमेत रहनुभएका मल्लले आगामी १४औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गर्नुभएको छ । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदारसमेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको उहाँको गुनासो छ ।
“फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ”, उहाँले भन्नुभयो, “मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।”
हिमालयन अटोका प्रोप्राइटर ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताउनुभयो ।
“उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । जमानी बसेका कारण यो अवस्था आएको हो,” उहाँले भन्नुभयो, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू ‘डिसमिस’ भएको उहाँको भनाइ छ ।



