
लगातारको वर्षाले मच्चायो बितण्डा, घरहरु पूर्णरूपमा विस्थापित
लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् ।

चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ ।
चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताउनुभयो । “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताउनुभयो । घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उहाँको भनाइ छ ।
बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उहाँले बताउनुभयो ।

नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ ।
बाढीले अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गर्नुभएको थियो । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ ।
त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् ।
बाढीले पानी आपूर्तिमा समस्या
त्यस्तै घट्टेखोलाको बाढी नयाँबजारको बस्तीमा पसेपछि खानेपानी आपूर्तिमा समस्या भएको छ । बाढीले खानेपानीको पाइप बगाएसँगै यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन । आपूर्ति नहुँदा पिउने पानी पाउनै मुस्किल भएको स्थानीयवासी बताउँछन् । चामे नयाँबजारका ४० घरधुरीलाई पानीको अभावले काकाकुल बनाएको छ ।
कोरोनाको कहरमा बाढीले पानीको समस्या समेत थपिँदा अझ कठिन बनाएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि लागिपरेको अवस्थामा अर्को विपत्तिले कठिन अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।
स्थानीयवासीका लागि गाउँपालिकाका अध्यक्ष घलेको पहलमा ४० घरधुरीलाई एक÷एक कार्टुन मिनरल वाटर वितरण गरिएको थियो तर कुनै परिवारका सदस्य धेरै रहेको अवस्थामा समस्या अझ थपिएको छ । पानीको मुहानबाट बस्तीमा ल्याइएको पाइपको मर्मत कार्य भइरहेको अध्यक्ष घलेले बताउनुभयो ।
दुई÷तीन दिनभित्र पानी आपूर्तिमा सहज हुने उहाँको भनाइ छ । “मर्मतसँगै पानी ट्याङ्कीसमेत सरसफाइ गरी उपभोक्तासम्म पु¥याइनेछ”, उहाँले भन्नुभयो । पानीको अभावले बस्तीमा समस्या उत्पन्न भएपछि छिटो पानी ल्याउने गरी काम भइरहेको छ । उक्त बस्तीका सर्वसाधारणले हाल मिनरल वाटरको भरमा जीवनयापन गरिरहेका छन् ।
सडक अवरुद्ध
यसैबीच बाढीले बेँसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका–१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले उक्त सडकखण्डको पुल बगाउँदा अवरुद्ध बनेको सडक निर्माणसमेत हुन सकेको छैन ।
पुल बगाएपछि मनाङबाट लमजुङ जाने र लमजुङबाट मनाङ आउने अत्यावश्यक वस्तुका सामग्री ढुवानी गर्ने सवारीसाधनको समेत आवतजावत बन्द भएको छ ।
मनाङका मुख्य सडकसँगै अन्य सडकका अधिकांश खोलामा काठेपुल प्रयोग भएका छन् । मनाङवासीलाई सदैव काठेपुलको जोखिममा यात्रा गर्नुपर्ने हुन्छ । अझ वर्षा लागेसँगै जोखिम बढ्ने गर्दछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । यसवर्षको मनसुन खतरायुक्त भएमा अझ बढी जोखिम बढ्ने देखिएको छ ।
अब कोरोना संक्रमितलाई कुकुरले सुँघेर पत्ता लगाउन थाल्यो
कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार अध्ययनका क्रममा ९७ प्रतिशत सफलता प्राप्त भएको छ ।
युनिभर्सिटी अफ पेन्सिलभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रकाशित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सहभागी गराइएको थियो । जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजातिका कुकुर थिए ।
ती कुकुरहरुले संक्रमित बिरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छुट्याएका थिए । त्यसमा ९७ प्रतिशत नतिजा सही भएको समाचारमा जनाइएको छ ।
गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोलाबोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशित गरेको थियो ।
रिपोर्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुकुरले कोरोना संक्रमित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचान गरेको थियो । त्यसको सत्यता प्रतिशत ९७।२ पोजेटिभ र नेगेटिभ ९२ प्रतिशत रहेको थियो ।
३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने
जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ ।
अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन् ।
स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन् ।
अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाएपछि बन्द नगर्न सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापनले मानेन, मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठायो ।” कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभई यस स्कूलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उहाँ बताउनुहुन्छ ।
कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान बेहोर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको उहाँको भनाइ छ ।

कक्षा १ देखि १० सम्म पढाइ हँुदै आएको यो विद्यालयले आर्थिक सङ्कटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ ।
विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा रु दुई करोड घाटा लागेकाले आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ ।
कलङ्की रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक÷दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक सङ्कट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गर्नुभयो ।”
हालसम्म २० वटा एसइई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ ।
विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजासमेत वितरण गरिसकिएको छ ।
विद्यालय बन्दको निर्णयप्रति रुष्ट हँुदै अभिभावक शिवशङ्कर मानन्धरले भन्नुभयो, “शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस् हामी थप सहयोग गर्न तयार छौँ ।”
अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावनाविपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात गर्नु सरह भएको टिप्पणी गर्नुभयो ।
विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उहाँले अभिभावक सङ्घकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि आगामी २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशङ्का व्यक्त गर्नुभयो ।
महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराई बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताउनुभयो ।



