फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

सामाजिक संजाल फेसबुक ह्याक गरी विभिन्न व्यक्ति तथा आफन्तहरुलाई छलछाममा पारी ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो।

उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखीएको छ।  

पक्राउ पर्नेमा दुवही नगरपालिका वडा नं. ५, सुनसरीका २० वर्षीय रितिककुमार कलवार र ईटहरी उपमहानगरपालिका वडा नं. १२ खनारका २४ वर्षीय सुरेन्द्र चौधरी रहेका छन्।

उनीहरुले केही दिन अघि पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढाको फेसबुक ह्याक गरी विभिन्न व्यक्तिसंग रकम माग गरेको आरोप लागेको छ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य सुरु गरिएको छ। आरोपितहरुले गत साता पत्रकार खेम बुढाको म्यासेन्जर ह्याक गरी बिभिन्न ब्यक्तिबाट रकम जम्मा गर्न लगाएको उजुरी परेपछि प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको थियो ।

यो पनि,,,,रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

रोल्पामा पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय २२ पुगेको छ। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।  

यसैबीच जिल्लाको एकमात्र अस्पताल रोल्पा अस्पतालमा अक्सिजन अभाव यथावत रहेको छ भने पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा समेत समस्या जस्तको तस्तै छ।

एक नगरपालिकासहित १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा कोरोना महामारीसँग जुध्नका लागि गतिलो योजना बनेको छैन भने स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र भौतिक सुबिधासमेत छैन।

यो पनि,,,,,,,घर फर्केका बिरामी बीच बाटोमै अलपत्र

काठमाडाैंबाट उपचार गरी फर्केका दुई बिरामी र दुई कुरुवालाई सोमबार बीच बाटोमै रोकेपछि अलपत्र परेका छन्।

रामेछाप सुनाकोठी गाउँपालिका–५ खनियाँपानीका ६० वर्षीय नारायाणबहादुर खड्का र उनकै २८ वर्षीय छोरा निशान खड्का र दुई जना कुरुवालाई घर जान रोकिएको हो।

गाउँपालिकाको खैरेनीघाट प्रहरीले रोकेको नारायणका छोरा निशानले बताए। उनीहरु सोमबार बिहान काठमाडौंबाट घर फर्किनको लागि बा.१ ज.५५४६ नम्बरको जिपमा हिँडेका हुन्।  

काठमाडौको हेल्पिङ ह्याण्ड्समा बुवाको र आफ्नो चाहविल स्थित ओम अस्पतालको आकस्मिक कक्षमा उपचार गरी फर्केको निशानले बताएका छन्। आफूसंगै उपचार गरेको कागजात हुँदाहुँदै स्थानीय प्रहरीले गाउँ छिर्न प्रतिबन्ध लगाएपछि बुबासहित चार जना बाटैमा अलपत्र परेको खड्काले बताए।  

‘रोकेको ठाउँदेखि घर पुग्न दुई घण्टा हिँड्नु पर्छ, बुवा हिँड्न सक्नु हुन्न’, निशानले भने। काठमाडौंदेखि हिँडेपछि कुनै पनि ठाउँमा नरोकेकोमा स्थानीय प्रहरीले मात्र रोकेको उनको भनाइ छ।  

स्थानीय प्रहरीले भने गाउँपालिकाले प्रवेशमा कडाइ गरेकोले गाउँपालिकाको अनुमति पाएपछि मात्र प्रवेश दिने स्थानीय प्रहरी चौकीका असइ केदारवावु कार्कीले बताए।  

सुनाकोठी गाउँपालिकाका अध्यक्ष धावा लामाले भने गाउँपालिकाभरी कोभिड १९ संक्रमित बढी भएको र एक २८ वर्षीया युवतीको समेत मृत्यु भएकोले कडाइ गरेको बताए। कोभिड परीक्षण गरेकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण भएको पछिल्लो तथ्यांक रहेको गाउँपालिकाले जनाएको छ।

बिरामी पक्षले आवश्यक कागजात पेश गरेमा अनुमति दिने उनको भनाइ छ। ‘कागजात सबै मिलेमा हामीले प्रक्रियाबाटै अनुमति दिन्छौं’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button