
ट्रमा सेन्टरका निर्देशक भन्छन्– रातभर थामियो, अब गाह्रो भयो
कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरु जस्तै काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव भएकाे त्यहाँका कर्मचारीले बताएका छन् ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ‘रातभर थामियो अब गाह्रो भो’ भन्दै अक्सिजन सहयोगको याचना गरेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै अक्सिजन सहयोग मागेका हुन् ।

ट्रमा सेन्टरका अर्का कर्मचारी भुवन केसीले पनि अक्सिजन अभावका कारण भगवान भरोसामा चल्नुपर्ने स्थिति आएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सिजनको सहायताले उपचाररत छन् । तर आज रातभरि अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मको लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’
उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सिजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान पनि गरेका छन् ।
सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र वीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।
यो पनि,,,,अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु
रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, आउनुपर्ने आइपुगेन ।
त्यही कारण आईसीयूमा उपचाररत रुपन्देहीका चार र नवलपरासीका एक संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ प्रवक्ता डा. गौतमले भने ।
अक्सिजनको अभावका कारण बचाउन सकिने बिरामीलाई समेत गुमाउनु परेको उनले बताए ।
भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमितले प्रयोग गरेका सिलिण्डरमा अक्सिजन सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन् ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार बिहान हावाहुरीले विद्युत अवरुद्ध हुँदा अस्पतालमा अक्सिजन आपूर्ति हुन ढिला भयो । संक्रमितले प्रयोग गरिरहेको सिलिण्डरको अक्सिजन सकियो, अर्को सिलिण्डर दिन नपाउँदा संक्रमितको ज्यान गयो ।
‘एकैछिन अक्सिजन सप्लाई रोकिएको थियो, अन्यत्रबाट सापटी ल्याइएको अक्सिजन जडान गर्दागर्दै तीनजनाको ज्यान गयो’ पोखरेलले भने, ‘अक्सिजन अभाव छ भनेर भर्ना नलिन पनि नसक्ने, बचाउन पनि नसक्ने अवस्था आयो ।’



