३ महिनामा काठमाडौँबासीको धारामा मेलम्चीको पानी यसरी आउनेछ

सोमबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणका लागि पानी पठाएसँगै अब छिट्टै काठमाडौँमा पानी आइपुग्ने सरकारले जनाएको छ ।

सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा मेलम्ची खोलाको मुख्य बाँधस्थलबाट काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा परीक्षणका लागि पानी पठाइएको छ ।

खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर महर्जनले संयुक्त रुपमा सुरुङमा पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिचेर उद्घाटन गरेका थिए । गत असारमा परीक्षणका लागि सुरुङमा पानी पठाउँदा सुरुङको गेट भत्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो ।

सुरुङको गेट राखी प्राविधिक परीक्षण गरेर ८ महिनापछि पुनः पानी पठाएर परीक्षण थालिएको हो ।

सुरुङमा पानी भरिनका लागि २ साता लाग्ने र २ महिनाभित्र पानी परीक्षण सम्पन्न गरी ३ महिनापछि उपत्यकामा खानेपानी वितरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले रातोपाटीलाई जानकारी दिए ।

आयोजनाको बाँधस्थल हेडवक्र्सको कामपनि अन्तिम चरणमा पुगेको र डेढ महिनाभित्र सम्पन्न हुने उल्लेख गरे ।

अहिले सुरुङको क्षमताको ५ प्रतिशतमात्र पानी हालेर परीक्षण गरिएको कार्यकारी निर्देशक खत्रीले बताए ।

अहिले २ सय ५० लिटर प्रति सेकेन्डदेखि ३०० लिटर प्रतिसेकेण्ड पानी पठाएको छ ।

उनले भने–‘सुन्दरीजल पानी पुग्न २ हप्ता जति लाग्छ, त्यसपछि सुरुङमा आठ दश दिन पानी राखेर, फेरि सुरुङ खाली गरेर, फेरी पानी पठाउँछौँ । त्यसका केही प्राविधिक नियमहरु छन्, त्यसलाई पूरा गरेर पानी पठाउँछौँ ।

परीक्षणका लागि सुरुङमा हालिएको पानी सुरुङ भरिँदा १३ करोड लिटर पानी हुन्छ । जमाएको पानी सुन्दरीजलका साथै अन्य ३ वटा निकास भाग (अडिट पोइन्ट)बाट खसालिन्छ । 

आयोजना प्रमुख खत्रीले आगामी वैशाख दोश्रो साताबाट पानी वितरण गर्न सकिने जानकारी दिए । काठमाडौँमा पानी वितरण प्रणालीको निर्माणकार्य ७० प्रतिशत सकिएको र तत्काल पुरानै प्रणालीबाट पानी वितरण हुने उनको भनाई छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खानेपानी वितरण सञ्जालमा मेलम्चीको पानी पुग्नेछ ।

खानेपानी मन्त्री मणि थापाले पहिलो चरणमा मेलम्चीको पानी परीक्षण गरिने र दोश्रो चरणमा पानी वितरण थालिने योजना अनुसार अहिले पानी परीक्षण गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘परीक्षण सफल भयो भने ३ महिनाभित्रमा काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन् । परीक्षण सफल हुन्छ भन्ने हाम्रो विश्वास छ, त्यसपछि हामी यो दिनदेखि काठमाडौँबासीले पानी पिउन पाउछन् भनेर समय तोक्छौँ । तर परीक्षण नसक्दै मिति तोक्ने अवस्था छैन् ।’

उनले पानी परीक्षणका क्रममा अघिल्लो पटक भएजस्तो दुर्घटना नहुनेगरी प्रातक परीक्षण गरेर सुरुङमा पानी पठाइको बताएका छन् ।

साथै उनले स्थानीयका समस्या समाधानका लागि सरकार गम्भीर रहेको र प्राथमिकताका आधारमा स्थानीयको समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button