
आज एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै, विरोध गर्नेहरु धमाधम पक्राउ
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार आज (मंगलबार) नेपाल आउँदै छिन् । एमसीसी परियोजनासम्बन्धी सम्झौता भए पनि कार्यान्वयन नभएपछि त्यसबारे बुझ्न नेपाल आउन लागेको बताइएको छ ।

तर, अहिले एमसीसीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेका छन् । सरकारले मित्रराष्ट्रहरुको प्रतिष्ठामा आँच पुर्याउनेलाई पक्राउ गर्न निर्देशन नै दिइसकेको छ ।

मंगलबार उपाध्यक्ष सुमार नेपाल आउनुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अगाडि एमसीसीविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । तर, विरोध प्रदर्शनलगत्तै उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले ‘वी हेट एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘गेट आउट एमसीसी’, ‘गो ब्याक एमसीसी’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।
एमसीसीकी उपाध्यक्ष सुमार नेपाल आउनुपूर्व गृह मन्त्रालयले सुरक्षा स्थिति बलियो बनाएको बताइएको छ भने विरोध गर्नेहरुलाई तत्काल पक्राउ गरिनेछ ।
सोमबार महारजगन्जस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीका ६ जनाले दूतावासअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
साथै, गृह मन्त्रालयले मित्र राष्ट्रहरुको मान, मर्यादामा आँच पुर्याउनेलाई कडा कारवाही गर्ने विज्ञप्ति नै जारी गरिसकेको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।



