
नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन, ८ चौकीदारलाई हटाउन माग
काठमाडौँ — ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् ।

करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

चौकीदारलााई कारागारको आन्तरिक प्रशासन र कैदीबन्दी व्यवस्थापनको खटनपटन गर्ने जिम्मा दिइएको हुन्छ ।
रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका छन् ।
प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् ।
विशाल विष्ट नख्खु कारागार मुख्य नाइके हुन् ।
उनीहरु कर्तव्य ज्यान, लागूऔषध, मानवतस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कारगारमा छन् ।
कारगार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने बताए ।
नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले कारागारभित्र नाराबाजी र प्रदर्शन भएको सूचना पाएपछि सुरक्षा तैनाथीलाई बढाइएको बताएकी छन् ।
माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने
गोरखा र धादिङको सीमानामा बग्ने बुढीगण्डकी नदी थुनेर बिजुली निकाल्ने गरी जलविद्युत् आयोजना निर्माण गर्दा डुबान क्षेत्रका सरोकारवालाहरुले सरकारलाई ११ बुँदे माग पेश गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले डुबान क्षेत्रमा व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिइएको तर जग्गामा बनेको घर, संरचना,फलफूलका बोटबिरुवाहरुको मुआब्जा निर्धारण नगरिएको बताए ।
दुई वर्षदेखि गोरखाको बेनिघाटस्थित जलविद्युत् आयोजना वातावरण, मुआब्जा पुनर्बास तथा पुनर्स्थापना इकाइकाले मुआब्जासँग सम्बन्धित कुनै काम नगरेको सरोकारवालाहरुले बताएका छन् ।
जसका कारण अर्बौं रकम लगातारजसो बजेट फ्रिज भएको उनीहरुको आरोप छ ।
सरकारले आफूहरुका माग १० दिनसम्म सुनुवाइ नगरेमा मागहरु पूरा नहुँदासम्म निरन्तर धर्ना र प्रदर्शनका कार्यक्रमहरु गर्ने सरोकारवालाहरुले बताए ।



