‘विगतमा सँगै युद्ध लडेका र असन्तुष्ट पक्षबाट मलाई मार्ने धम्की आईरहेको छ : प्रचण्ड
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले एक कार्यक्रममा व्यक्त गरेका थिए।
सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन्।
सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ। राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धानबाट विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको स्रोतले बताएको नागरिक दैनिकमा खबर छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन्। ‘विगतमा सँगै युद्ध लडेका नेत्र विक्रम चन्द र असन्तुष्ट पक्षबाट उहाँलाई थ्रेट छ, यसको मात्रा पनि बढी नै।
यसो हुनुका पछाडि विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट पनि उहाँलाई थ्रेट भएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘शान्ति प्रक्रियाप्रति असन्तुष्ट समूह नै बढी खतरनाक छ।’
दाहालले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ। गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ।